पोखरा। पोखरामा जारी नेपाली कांग्रेसका सात प्रदेशका सभापति, उपसभापति, जिल्ला सभापति र उपसभापतिहरुको अभिमुखीकरण कार्यक्रममा संस्थापन इतर पक्षका नेता शेखर कोइरालालाई नबोलाएपछि पार्टीमा मनमुटाव देखिएकाे छ । इतर पक्ष नबोलाइएपछि नेता गुरुराज घिमिरेले रोष प्रकट गरेका छन् ।
नेता घिमिरेले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोजिएको आरोप लगाएका छन् । उनले अभिमूखीकरण तालिम कार्यक्रम राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखिएको उल्लेख गरेका छन् । ‘यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोसिस गरेको छ। यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियो’, उनले लेखेका छन्, ‘यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ ।’
नेता घिमिरेले पार्टी पद ओगटेका २/४ व्यक्तिका लागिमात्रै नभएको पनि बताएका छन् । ‘पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो । पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको छ’, उनले भनेका छन् ।
सातै प्रदेशका सभापति, उपसभापति र ७७ वटै जिल्लाका सभापति उपसभापतिहरूका आयोजित यो अभिमुखीकरण कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारी पोखरामा छन् । तर त्यसमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका प्रभावशाली नेता डा. शेखर कोइराला भने सहभागी छैनन् । उनले आफैंले कुनै पदाधिकारीले निम्तो नै नगरेको र आफूलाई टाढा–टाढा पार्न खोजिएको प्रतिक्रिया दिएका थिए ।