काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेको छ । सो पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले शुक्रबार संसदमा सो माग गरेका हुन् ।
उनले लामिछानेबारे सरकारको रवैयालाई संसदले समर्थन गरेको भन्दै प्रश्नसमेत उठाए । उनले भने, ‘उहाँमा सरकारले त प्रतिशोध साँध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । चौथो ठूलो दलको सभापतिमाथि सरकारको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै चुकाउनुपर्नेछ । झूटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत सबैले बुझिसकेका छन् । सरकारको रबैयालाई संसदले समर्थन नगरोस् ।’
सम्पत्ति सुद्धीकरणको मुद्दा दर्ता भएसँगै स्वतः निलम्बन हुने कानुनी व्यवस्थाअनुसार लामिछाने अहिले सांसदबाट निलम्बित छन् । तर, रास्वपाले भने उनको निलम्बन फुकुवा गर्न माग गरिरहेको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा लामिछानेविरुद्ध चारवटा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।
