सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई नचाहिने काममा नलाग्न सुझाव दिएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको टिप्पणी गरेका हुन् ।
सिन्धुलीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको । मन्त्रालय अन्तर्गत विद्युत् प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो । तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने हो ।’
थापाले मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको भएको पनि स्पष्ट पारे । प्रधानमन्त्री भनेको सरकार र क्याबिनेटको मास्टर भएको उनको भनाई थियो ।

‘प्रधानमन्त्रीले राम्रो कामको श्रेय पनि पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ । हामीहरू सहयोगी हौँ । सबैको कुरा एउटै छ, सरकारले राम्रो काम गरोस्, सफल होस् । प्रदेशको सरकारको सन्दर्भमा पनि त्यही हो,’ उनले भने । उनले कि राम्रो काम गर्न र राम्रो गर्न नसके भने नराम्रो काम नगर्नु सुझाव दिए ।