को हुन् बागलुङ उद्योग वाणिज्य संघको सदस्य उठेका मनिष राजभण्डारी ?

पोखरा । बागलुङ उद्योग वाणिज्य संघको १९औं अधिवेशन आगामी चैत १५ र १६ मा हुँदैछ । यो अधिवेशनमा ३१ वर्षीय एक जना युवा पनि चुनावी मैदानमा होमिएका छन् । उनी हुन्, मनिष राजभण्डारी ।

बागलुङ बजार घर भएका मनिषको परिवार नै व्यवसायमा आबद्ध छ । राजभण्डारी परिवार सुनचाँदी, हिरा, निर्माण व्यवसाय, उद्योगलगायत व्यवसायमा संलग्न छ ।

सदस्य पदका उम्मेद्वार मनिष युवाहरू विदेश जानु हुँदैन भनेर व्यवसायमा जोडिएका पात्र हुन् । बागलुङ उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष उनका बुवा युवराजले २०६० सालमा बागलुङ बजारमा सुनचाँदी व्यवसाय सुरु गरेका थिए । पछि मनिष पनि त्यसमै बुवालाई सघाउन थाले । त्यसपछि यो परिवारले २०७९ मा धौलागिरि क्षेत्रकै पहिलो हिरा पसल खोल्यो ।

मनिष जयलक्ष्मी निर्माण सेवा, राजभण्डारी एन्ड सन्स बेभरेज कम्पनीका एम.डी हुन् । उनले पोखराकै अर्चलबोटमा क्याफी क्याफे सञ्चालन गरेका छन् । उनी जेसिज, जीवित ब्यान्डसँग पनि आबद्ध छन् ।

विदेश जान छोडेर नेपालमै व्यवसाय गर्ने युवालाई मतदाताले सहयोग गर्नेमा मनिष आशावादी छन् । ‘युवाहरु विदेश जानु हुँदैन । देशमै केही गर्नुपर्छ, उद्यमशीलतासँग जोडिनुपर्छ भन्ने युवालाई जिताउनुहुन्छ भन्नेमा म आशावादी छु,’ उनले भने । बागलुङ उद्योग वाणिज्य संघले गर्ने कार्यक्रम परम्परागत शैलीमा अल्झिएकाले प्रविधिमैत्री र समयसापेक्ष बनाउने आफ्नो योजना रहेको उनले सुनाए ।

मनिष राजनकुमार शाक्यको प्यानलबाट खुल्ला सदस्य पदको उम्मेद्वार हुन् ।

बागलुङ उद्योग बाणिज्य संघमा १ हजार ४ सय १६ व्यवसायी सदस्य छन् । अधिवेशनले आउँदो २ वर्षका लागि कार्यसमिति चयन गर्नेछ ।

Leave A Reply

Your email address will not be published.