फ्रिमा खान नक्कली ‘डीएसपी’ बने चन्द्रकान्त, सक्कली प्रहरीद्वारा पक्राउ

पोखरा । रेष्टुरेन्टमा खाना खाएर प‌ैसा तिर्ने बेला आफूलाई ‘डीएसपी’ भन्दै धम्काउने बाग्लुङ ४ कुँडुलेफेदिका चन्द्रकान्त पाैडेल पक्राउ परेका छन् ।

आईतबार राति पाेखराकाे सृजनाचोकस्थित ढावा रेस्टुरेन्ट एन्ड बारमा करिब १० बजे प्रवेश गरेका पाैडेलले विभिन्न खानाका परिकार अर्डर गरे थिए । तर, बिल तिर्ने बेला उनले काउन्टरमा गएर चर्काे स्वरमा आफू प्रहरीको डीएसपी भएकाे र बिल तिर्नु पर्दैन भनेर कर्मचारीहरूलाई धम्काएपछि रेष्टुरेन्टका कर्मचारीले प्रहरी कन्ट्रोलमा खवर गरेका थिए ।

सूचनालगतै वडा प्रहरी कार्यालय बैदामको टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा चन्द्रकान्त पौडेलको प्रहरीसँग कुनै सम्बन्ध नरहेको पुष्टि भएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार पौडेल सामान्य नागरिक हुन् र उनले प्रहरी अधिकृत भएको झुटो दाबी गरेर सार्वजनिक स्थानमा अशोभनीय व्यवहार गरेका थिए।

उनलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई अभद्र व्यवहार सम्बन्धी अभियोगमा १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

सर्वसाधारणले यस्तो व्यवहारप्रति चासो व्यक्त गरेका छन्। सार्वजनिक स्थानमा कानुन हातमा लिने कोसिस गर्ने र नक्कली परिचय प्रयोग गर्ने यस्ता क्रियाकलापप्रति कडा निगरानी र कारबाही आवश्यक रहेको जनाइएको छ।

ढावाका एक कर्मचारीले भने, “हाम्रो यहाँ खाना सस्तो नै छ, डीएसपी बन्नै पर्दैन, पैसा तिरिदिए पुग्थ्यो।”

Leave A Reply

Your email address will not be published.