कोटि होम १

कास्कीका पालिकाको वित्तीय सुशासन मूल्यांकनमा रुपा गाउँपालिका अग्रस्थानमा

पोखरा । कास्की जिल्लाका पालिकाहरूको आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) प्रतिवेदन सार्वजनिक गरिएको छ। जिल्ला समन्वय समिति (जिसस) कास्कीको आयोजनामा मंगलवार आयोजित समीक्षा तथा सार्वजनिकरण कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो।

कार्यक्रम प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले कार्यक्रममा भने, वित्तीय सुशासन स्थानीय तहको विश्वासनीयताको आधार हो। पारदर्शिता र जवाफदेहीता कायम राख्दै काम गर्न सके मात्रै जनतासामु परिणाम पुग्छ।

कार्यक्रममा स्वागत जिसस कास्कीकी उपप्रमुख सरिता मालले गरिन् र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए। कार्यक्रममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति थियो।

मूल्यांकन नतिजाअनुसार रुपा गाउँपालिका ६८ अंकसहित अग्रस्थानमा रहँदा अन्नपूर्ण गाउँपालिका (६६.५) र मादी गाउँपालिका (६१.५) ले उल्लेखनीय प्रदर्शन गरेका छन्। पोखरा महानगरपालिकाले ४७.५ अंक प्राप्त गर्दै अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ भने माछापुच्छ्रे गाउँपालिका ४५ अंकसहित सबैभन्दा पछाडि परेको छ।

जम्मा २६ सूचक प्रयोग गरिएको मूल्यांकनमा प्रक्रिया (५३ अंक), नतिजा (१३ अंक) र वित्तीय अनुशासन (३४ अंक) गरी तीन मुख्य आधार अपनाइएको थियो। मूल्यांकन टोलीमा जिल्ला समन्वय अधिकारी नवराज बरालसहित कोष नियन्त्रक चन्द्रशेखर सापकोटा, शाखा अधिकृत झविश्वर रेग्मी र इन्जिनियर महेश पोखरेल सहभागी थिए। टोलीले पालिकाहरूको योजना, बजेट, कार्यान्वयन क्षमता, लेखापरीक्षण र राजस्व व्यवस्थापनका पक्षमा विस्तृत रूपमा मूल्यांकन गरेको थियो।

Nawa Srijana

जिल्ला समन्वय अधिकारी नवराज बरालले भने, मूल्यांकनले पारदर्शिता र जवाफदेहीताको अवस्था मापन गर्न सहयोग पुर्याएको छ। पालिकाहरूको सक्रियता र प्रतिबद्धता अझ बढ्नुपर्ने देखिएको छ।

उनका अनुसार पालिकाहरूमा चासोको अभाव, समयमा कार्यान्वयनको कमजोरी, समान सूचकबाट मूल्यांकन गर्दा देखिएको असमानता, तथा विधि र तालिमको अभाव जस्ता समस्या प्रमुख रूपमा देखिएका छन्। पोखरा महानगरपालिकाले केही सूचकहरू पुनरावलोकन गरी थप प्रमाण प्रस्तुत गरेपछि अंकमा सुधार आएको उल्लेख गरिएको छ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै उपप्रमुख सरिता मालले भनिन्, यस किसिमको मूल्यांकनले पालिकाहरूलाई आत्मसमीक्षा गर्ने मौका दिन्छ। अब मूल्यांकनलाई केवल औपचारिकतामा सीमित नराखी कार्यान्वयनमुखी बनाउनुपर्छ।

कार्यक्रमबाट FRA, LISA र LED मूल्यांकन प्रणालीलाई एकीकृत कार्यविधिमार्फत सञ्चालन गर्नुपर्ने, मूल्यांकन प्रणालीलाई पुरस्कार र दण्डसँग जोडेर जिम्मेवारीबोध गराउने, र सूचकहरूलाई सान्दर्भिक एवं समयसापेक्ष बनाउनुपर्ने सुझावहरू प्रस्तुत गरिए।

साथै, वेबसाइट अद्यावधिक गर्दा पुराना विवरणको अभिलेख राख्नुपर्ने र शाखागत समन्वय तथा जवाफदेहीता अभिवृद्धिमा पनि जोड दिइएको छ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.