पोखरा । प्रेस क्लब गण्डकीको आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा बुधबार पोखरामा मिडिया साक्षरता तालिम भएको छ।
तालिममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले प्रशिक्षण दिएका थिए। उनले सहभागी पत्रकारहरूलाई सूचनाको सही प्रयोग, पत्रकारिता क्षेत्रमा देखिएका वर्तमान समस्या र आचारसंहिताबारे जानकारी दिएका थिए।
क्लबका अध्यक्ष एकराज गिरीले कार्यक्रममा बोल्दै संस्थाले वार्षिक ५० हजार रुपैयाँ राशिको पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको जानकारी दिए। साथै, पत्रकारहरूका लागि स्कुटर र मोटरसाइकलजस्ता सवारी साधनहरूको निःशुल्क सर्भिसिङको व्यवस्था गरिएको पनि उनले बताए।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले तालिमपछि पत्रकारहरूले खिच्ने फोटो, भिडियो तथा तयार गर्ने समाचार सामग्रीहरूमा तालिमको प्रभाव देखिनुपर्नेमा जोड दिए। उनले पत्रकारले आफ्नो रुचिअनुसारको बिटमा कलम चलाउनुपर्ने सुझाव पनि दिए, जसले समाचारको गुणस्तरमा सकारात्मक असर पार्ने उल्लेख गरे।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रमा दिनप्रतिदिन नयाँ प्रविधिहरू भित्रिईरहेका कारण पत्रकारहरू प्रत्येक विषयमा अपडेट भइरहनुपर्ने बताए।
तालिममा पोखरामा कार्यरत पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्घाटन सत्रको समापन प्रेस क्लब गण्डकीका उपाध्यक्ष राजाराम पौडेलले गरेका थिए।
