पोखरा । स्याङ्जा जिल्लाले गण्डकी प्रदेश टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ। प्रादेशिक क्रिकेट सङ्घ गण्डकीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा शनिबार कास्कीलाई ७ विकेटले पराजित गर्दै स्याङ्जाले लगातार दोस्रो उपाधि हात पारेको हो। उपाधिसँगै स्याङ्जाले नगद १ लाख रुपैयाँ र उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरे।
५७ रनको विजयी लक्ष्य पछ्याएको स्याङ्जाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रन बनाएर लक्ष्य पूरा गर्यो। स्याङ्जाकी सिमाना केसीले १७ रनको अविजित पारी खेलिन्। उनले २२ बलमा १ चौका प्रहार गरिन्। कुसुम गोदार ११ रनमा अविजित रहिन्, जसले १३ बलमा १ चौका हानिन्। ओपनर श्रेया शाह ५, सलिना सेन ६ र ज्योत्स्निका मरासिनी ६ रनमा आउट भए। कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको कास्की १६ ओभरमा अलआउट हुँदै ५६ रनमा समेटियो। कास्कीकी रेखा तामाङले २४ र रचना चौधरीले १४ रन बनाए। रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार गरिन् भने रचनाले २५ बलमा २ चौका हानिन्।
अन्य ब्याटरमध्ये सिर्जना पौडेल ५, विनिता नेपाली, शिखा दवाडी र रिया तामाङ शून्यमा आउट भए। विनिता सिग्देल र चन्द्रमाया बराल २–२ रनमा आउट भए भने यशोदा भुजेल र सुशीला डिम्टुक पनि शून्यमा पवेलियन फर्किए। सोनिमा पुन मगर शून्यमा नटआउट रहिन्। स्याङ्जाकी अपेक्षा बुढाथोकीले ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् भने सिमाना केसीले ४ ओभरमा १३ रन दिएर ३ विकेट हात पारिन्।
स्याङ्जाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी, वुमन अफ द म्याच र उत्कृष्ट बलर घोषित भइन्। कास्कीकी सिर्जना पौडेल उत्कृष्ट ब्याटर र सोनिमा पुन मगर उदयीमान खेलाडी चुनिए। चारदिने प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता थियो।
