पोखरा । विश्व पर्यटन दिवसको सन्दर्भमा दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ । पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजित पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा कार्यक्रम समारोहका बीच उक्त जानकारी गराएको हो ।
कार्यक्रममा सहभागीहरूले पहिलो संस्करणमा देखिएका कमजोरीलाई सुधार्दै दौडलाई पर्यटन, स्वास्थ्य तथा खेलकुद र स्थानीय क्षेत्र प्रवद्धर्नसँग जोडेर अगाडि बढ्न सुझाव दिए । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले प्रतियोगितालाई सफल बनाउन आफ्नातर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पुम्दीभुम्दीबासीको राष्ट्रियता बलियो रहेको बताउँदै थपे– ‘अन्तर्राष्ट्रिय सीमानासँग जोडिएर आयोजना हुने यस्ता कार्यक्रमले समयको कालखण्डमा पारीको लेकसाइड जस्तै वारीको पुम्दीभुम्दी बनाउने आधारशीला बनाउन सहयोग पुग्ने छ ।’
नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले सहभागी खेलाडीलाई अनलाइनमार्फ्त समयमै बुकिङ खुला गर्न सुझाव दिँदै पर्यटन दिवसको हप्तादेखि दश दिनभित्र प्रतियोगिता सञ्चालन गर्न जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले प्रतियोगितालाई चाडका रूपमा लिएर भव्य तयारीका साथ अगाािड बढ्नुपर्ने सुझाव दिए ।
नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीमप्रसाद भण्डारीले अघिल्लो संस्करणमा आइलागेका समस्यालाई आउँदा दिनमा सुधारका लागि जनसम्पर्क र समन्वय ज्यादा गर्नुपर्नेमा धारणा राखे । सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले पहिलो संस्करणमा केही कमजोरी देखिए पनि उत्साहजनक सहभागिताले कार्यक्रम निकै सफल रहेको बताए । नेपाल भूतपूर्व खेलाडी मञ्चका सदस्य तथा प्राविधिक ओम गुरुङले प्रतिकूल मौसमका बीच प्रतियोगिता आयोजना भएकोमा प्रशंसा गर्दै, आगामी दिनमा कार्यक्रम तय गर्दा वर्षा भएमा कसरी अगाडि बढ्ने भनेर पनि पूर्व तयारी गर्नुपर्ने सुझाव दिए ।
पर्यटन विज्ञ दीपेन्द्र पहारीले प्रतिकूल मौसममा बाबजुद कार्यक्रमको समापन समारोह निकै उत्कृष्ट रहेको उल्लेख गरे । आदर्श समाज राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक विजय नेपालले यो आयोजनाबाट स्थानीय जन्मथलोप्रति उत्तरदायित्वको भावनाले प्रेरित भएको बताए । पत्रकार सन्देश श्रेष्ठले प्रतियोगिताको ब्रान्डिङमा ध्यान दिनुपर्ने सुझाव दिए । पोखरा क्लिकका वरिष्ठ सम्वाददाता असफल गौतमले गाउँ पर्यटन, खेल पर्यटन र स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा आयोजकको रहेको धारणा राखे ।
पोखरा क्लिकका अध्यक्ष दीननाथ बरालले सबैको साथ सहयोगले प्रतियोगिता सफल भएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष दुर्गा पौडेल, पत्रकार सागर ढकाल, वसन्त बराल, सागर सुनार लगायतले रचनात्मक सुझाव पेश गरेका थिए ।
