पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि देशभर लागू हुनेछ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो। अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य १४८ रुपैयाँ हुनेछ।
सुर्खेत र दाङमा पेट्रोल १५९ रुपैयाँ र डिजेल/मट्टितेल १४७ रुपैयाँ पर्नेछ। त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५७ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १४५ रुपैयाँ ५० पैसा तोकिएको छ।
नेपाल आयल निगमले भारतको आयल कम्पनीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।
