पोखरा । गण्डकी प्रदेश हक्की संघको आयोजनामा शुक्रबार हालै नियुक्त भएका प्रदेश खेलकुद परिषद्का सदस्यहरू लाई परिचयात्मक कार्यक्रममा हक्की खेलमा उल्लेखनीय योगदान पुर्याएका ३२ जना खेलाडीलाई नगदसहित सम्मान गरियो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले प्रदेशस्तरमा दर्ता भएका २७ वटा खेल संघमध्ये हक्की संघलाई उत्कृष्ट संघका रूपमा मान्यता दिइएको जानकारी दिनुभयो। उहाँले १०औं राष्ट्रिय खेलकुदका लागि तयारीमा जुट्न आग्रह गर्दै , हक्की अब विद्यालयमै सीमित छैन, यो खेल सम्पूर्ण प्रदेशभर लोकप्रिय बन्दै गएको दाबी गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले संघले औपचारिक रूपमा दर्ता भएको ६ महिनाको छोटो अवधिमा नै पाँचवटा उपाधि जित्न सफल भएको जानकारी दिनुभयो। उहाँले भारतको राजस्थानमा सम्पन्न मैत्रीपूर्ण खेलमा संघको सहभागिता र मलेसियामा आयोजित आमन्त्रण प्रतियोगितामा गण्डकी प्रदेशका दुई खेलाडीले उपाधि जितेको प्रसंग उल्लेख गर्नुभयो।
थापाले हक्की मैदानको व्यवस्थापन तथा पूर्वाधार विकासका लागि प्रदेश र स्थानीय तहबाट थप सहयोगको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा सम्मानित नवनियुक्त प्रदेश खेलकुद परिषद्का सदस्यहरू रबिन्सन प्रञ्जु र सङ्गिता सुवेदीले शुभकामना मन्तव्य दिँदै आगामी दिनमा प्रदेश हक्की संघसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उनीहरूले संघप्रति सम्मानका लागि आभार प्रकट गर्नुभयो।
कार्यक्रममा हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य हितकुमार गुरुङ, कास्की जिल्ला हक्की संघका अध्यक्ष सुजन पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष तिलकबहादुर अधिकारी, कार्यालय प्रमुख सुनबहादुर लामा लगायत खेलाडी, प्रशिक्षक र संघसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष हिमाल खडकाले राख्नुभएको थियो भने सञ्चालन संघका सचिव अजय क्षेत्रीले गर्नुभएको थियो।
