पोखरा । कास्की जिल्ला कारागारमा नाइके (आन्तरिक चौकीदार) नियुक्तिको विषयमा उत्पन्न विवादले आइतबार कारागार परिसरमा तनावपूर्ण स्थिति सिर्जना गरेको छ। ब्लक ‘ए’ का कैदीबन्दीहरूले पुराना नाइके प्रकाश गुरुङको सट्टा अजय गुरुङलाई नियुक्त गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
कैदीबन्दीहरूले नयाँ नाइके नियुक्तिको विरोधमा कारागारभित्र टायर बालेर प्रदर्शन गरेकाले स्थिति केही समय तनावग्रस्त बनेको थियो। उनीहरूले अजय गुरुङको नियुक्तिलाई अस्वीकार गर्दै नाराबाजी समेत गरेका थिए।
जिल्ला कारागार कास्कीबाट नाइके पदका लागि तीन जनाको नाम कारागार विभागमा सिफारिस गरिएको थियो – प्रकाश गुरुङ, अजय गुरुङ र प्रशान्त थापा। तर कारागार विभागले अजय गुरुङलाई नियुक्त गर्ने निर्णय गरेपछि विवाद चर्किएको हो।
आन्दोलनमा सहभागी कैदीबन्दीहरूको भनाइअनुसार हाल नाइकेका रूपमा कार्यरत प्रकाश गुरुङ करिब सात वर्षदेखि कारागारमा छन् र उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका छन्। नव नियुक्त अजय गुरुङ पनि सोही मुद्दामा कैद काटिरहेका व्यक्ति हुन्। अर्का सिफारिस भएका व्यक्ति प्रशान्त थापा भने लागुऔषध मुद्दामा सजाय भोगिरहेका कैदी हुन्।
विरोधमा उत्रेका कैदीबन्दीहरूले नाइके नियुक्तिमा राजनीतिक पहुँच र आर्थिक लेनदेनको गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार कुनै पार्टीनिकट बिचौलियाले आफ्नो स्वार्थको लागि कैदीबन्दीमाझ अलोकप्रिय व्यक्ति अजय गुरुङलाई नाइकेको जिम्मेवारीमा ल्याउन दबाब दिएको हो।
कास्की जिल्ला कारागारका जेलर राजेन्द्र शर्माले केही कैदीबन्दीले नाइके नियुक्तिमा असन्तुष्टि जनाएको स्वीकार गरेका छन्। उनले भने, स्थिति नियन्त्रणमा छ र समाधानका लागि आवश्यक छलफल भइरहेको छ। हाल कारागारमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको जनाइएको छ।
कास्की कारागारमा हाल ब्लक ‘ए’ मा ४६६ जना, ब्लक ‘बी’ मा ४८० जना र महिला ब्लकमा ३५ जना कैदीबन्दी रहेका छन्। कुल कैदीबन्दी संख्या करिब ९८१ जना पुगेको छ।
