पोखरा । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा साउन १७ र १८ गते (अगस्ट २ र ३) काठमाडौंमा ‘पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी २०२५’ सम्पन्न भएको छ। कार्यक्रममा नेपालसहित विभिन्न देशका सरकारी अधिकारी, उद्योगी–व्यवसायी, प्राविधिक विज्ञ र संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नासा नेपालले सरकारसमेतले गर्न नसकेका कार्यहरू अघि बढाउँदै देश–विदेशका संस्थासँग समन्वय गरेर मोबिलिटी सुधारमा योगदान गरिरहेको उल्लेख गरे। उनले सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको र आगामी दिनमा सडक सुरक्षालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता जनाए।
फिलिपिन्सस्थित एशिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटरीका चेयरपर्सन सुशीलबाबु ढकाल, अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (FIA) का भाइस प्रेसिडेन्ट तथा AIP फाउन्डेसनका संस्थापक ग्रेग क्राफ्ट, भारतीय अटोमोबाइल संघकी महासचिव रणजित कौर विर्क र नामटेक इन्डियाका निर्देशक डा. केसी बोरा लगायतले अन्तर्राष्ट्रिय अनुभव र प्रविधि साझा गरे।
कार्यक्रमका विभिन्न सत्रहरूमा मोटरसाइकल सुरक्षा, युवा मोबिलिटी, इ–भेइकल प्रवर्द्धन, साइक्लिङ पूर्वाधार, सार्वजनिक यातायात सुधार, राइड सेयरिङको सम्भावना, पर्यटनसँगको यातायात समन्वय तथा सडक सुरक्षाका नवीन अभ्यासबारे प्रस्तुतिकरण र छलफल भयो। विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्राविधिकहरूले इनोभेसन र अनुसन्धानका विषयमा पनि जानकारी दिए।
यस अवसरमा ट्राफिक अभियन्ता शेखर चन्द्र राईलाई “नेसनल रोड सेफ्टी अवार्ड” प्रदान गरिएको छ। साथै, नासा नेपालले मोटरिङ एकेडेमी र ईभिजन नेपाल कार्यक्रम सुरु गर्ने घोषणा गर्यो।
नासा नेपालका अध्यक्ष दशरथ रिसालले यो संवादबाट प्राप्त निष्कर्षहरू आगामी महिनामा फिलिपिन्समा हुने एशिया प्यासिफिक रोड सेफ्टी सम्मेलनमा प्रस्तुत गरिने बताए।
नासा नेपाल विगत १७ वर्षदेखि अटोमोबाइल, मोबिलिटी, मोटर स्पोर्ट्स, पावर बोटिङ, ई–स्पोर्ट्स, ड्रोन र सडक सुरक्षामा क्रियाशील छ र अन्तर्राष्ट्रिय निकायहरू जस्तै FIA, FIM, UIM, AIT तथा ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टीसँग आबद्ध छ।
