पोखरा । बुटिक एसोसियसन पोखराले साउन ३० गते शुक्रबार “पोखरा डिजाईनर्स फेशन वीक-२०२५” आयोजना गर्ने भएकाे छ।
फेसन क्षेत्रकाे विकास संगै डिजाइनर, मोडल तथा कारीगरहरूको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यले फेशन शाे आयोजना गर्न लागिएको आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ।
फेशन वीकमा पाेखराका डिजाइनरहरू सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, ईन्दिरा लामिछाने, स्वेता भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीष मगर, रेनु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङले तयार पारेका ड्रेसमा देशभरबाट छानिएका मोडेलहरु र्याम्पमा उत्रिने छन ।
अभिनेत्री करिश्मा मानन्धर, अन्जना बराइली, सनीषा भट्टराई, अभिनेता प्रिन्स सिंह, माेडेल कृशल श्रेष्ठ, पुर्ब मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्का, मिस नेपाल २०१९ मीरा कक्षपति, मिसेज दार्जिलिङ २०२३ प्रेना लामा शाे स्टपरका रूपमा रहने आयोजकले जनाएको छ ।
पोखरा डिजाईनर्स फेशन वीकले परम्परागत र आधुनिक डिजाईनको संयोजनमार्फत सांस्कृतिक विविधतालाई समेट्ने साथै यसले पोखराको फेसनलाई विश्वव्यापी बनाउने लक्ष्य राखिएको संस्थाकी अध्यक्ष ईन्दिरा लामिछानेले बताइन् । फेशन वीकले परम्परा र आधुनिकताको मेलमिलाप मात्र होइन, नयाँ रचनात्मकता र व्यवसायिक अवसरहरू सिर्जना गर्ने अवसर पनि प्रदान गर्ने उनको भनाइ छ । “यसले डिजाइनर, मोडल र कारीगरहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्लेटफर्म उपलब्ध गराउनेछ जसले पोखराको फेसन उद्योगलाई अझ समृद्ध बनाउने विश्वास लिइएको छ।” अध्यक्ष लामिछानेले भनिन् ।
फेशन वीकले डिजाइनरहरूलाई आफ्ना सिर्जनाहरू प्रदर्शन गर्ने मात्र होइन, गण्डकी प्रदेशको समृद्ध सांस्कृतिक पहिचान र सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने पुलको रूपमा पनि काम गर्ने संस्थाका सचिव कमला गुरुङले बताइन् । “यसले गण्डकी प्रदेशमा पर्यटन प्रबर्द्धनमा समेत भूमिका खेल्ने छ ” उनले बताइन्। २०७४ सालमा स्थापना भएको बुटिक एसोसियसनले मोडल, डिजाइनर, दर्जी र कारीगरहरूलाई रोजगार र तालिम उपलब्ध गराउँदै आएको छ। कोभिड-१९ महामारीको समयमा आर्थिक संकट झेलिरहेका व्यवसायीहरूको सहयोग गर्ने यस संस्थामा हाल ३० भन्दा बढी आजीवन सदस्य र ३५ भन्दा बढी साधारण सदस्यहरू छन्।
