पोखरा । नजिकिदै गरेको हरितालिका तीज, दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर पोखरा हङकङ बजार व्यवस्थापन समितिले हङकङ बजारमा पैसैपैसाको बहार चौथो उपहार कुपन योजना सार्बजनिक गरेको छ। बिगतका बर्षहरु जस्तै यसवर्ष पनि ग्राहक लक्षित कुपन योजना ल्याएको समितिले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
हङकङ बजार व्यवस्थापन समितिको आयोजना र गुडलक कम्पनी प्रालिको मुख्य प्रायोजनमा उपहार कुपन योजना ल्याईएको हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिए। यो योजना आगामी भदौ १ गतेदेखी कार्तिक १० गतेसम्म सन्चालन हुने जनाईएको छ।
कुपन योजना अनुसार हङकङ बजारभित्र रहेका कुनैपनि पसलमा पाँच सयको सामान किन्दा एउटा र एकहजार बराबरको सामान किन्दा दुइवटा कुपन निःशुल्क प्राप्त गर्ने छन्। कुपन संख्या ग्राहकले किन्ने सामानको मुल्य अनुसार थप हुँदै जाने जनाईको छ। उनले सामान किनेपछि अनिवार्य रुपमा कुपन उपलब्ध गराउन र कुपन लिन आग्रह गरेका छन्।
विगतका वर्षहरुमा जिन्सी सामान उपहारका रुपमा दिने गरिएकोमा यसो गर्दा झन्झट हुने भएकाले नगद प्रदान गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाई छ। नगद प्रदान गर्दा बिजेताले आफू अनुकुल खर्च गर्न पाउने उनको भनाई छ।
आर्थिक मन्दीले व्यवसायीहरु पलायन हुने अवस्थामा रहेको बताउँदै यो उपहार कुपन योजनाले व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष श्रेष्ठको अपेक्षा छ।
उपहार कुपन योजनामा प्रथम हुने ग्राहकले एक लाख, द्दित्तिय हुने ग्राहकले पचास हजार, तृतीय हुने ग्राहकले २५ हजार र सान्त्वना हुनेले दस हजार रुपैयाँ नगद प्राप्त गर्ने छन्। कुपन योजनामा सहभागीमध्ये भाग्यशाली २८ ग्राहकलाई जनही नगद रु पाँच हजार प्रदान गरिने उपाध्यक्ष रुद्र बहादुर रानाभाटले जानकारी दिए। कुपनको नतिजा आगामी कार्तिक २३ गते स्थानीय पत्रिकामा प्रकाशन गरिने उनको भनाई छ।
गुडलक कम्पनीका सन्चालक मिलन प्रसाद तिवारीले हङकङ बजार निम्न र मध्यम बर्गीय परिवारका लागि प्रमुख रोजाईको बजारका रुपमा स्थापित भएको बताए। सबैथरीका सामाग्रीहरु एउटै छानामुनि पाईने भएकाले पनि हङकङ बजार ब्रान्डको रुपमा रहेको उनको भनाई छ।
कार्यक्रमको सञ्चालन सचिव दिनेश आचार्यले गरेका थिए। पोखरा हङकङ बजार व्यवस्थापन समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रममा खाद्यान्न र तरकारी सहयोग, रक्तदान कार्यक्रम, महायज्ञमा आर्थिक र खाद्यान्न सहयोग लगायतका काम गर्दै आएको जनाईएको छ।
यसबाहेक समितिले पृथ्वीराजमार्ग बस संचालक समितिका सदस्यहरुलाई बजारभित्र १० प्रतिशत छुट दिने सहमती भएको र यसको सट्टा पृथ्वीराजमार्ग बस संचालक समितिमा आबद्ध बसमा यात्रा गर्दा हङकङ बजारका सदस्यहरुलाई छुटको व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। हङकङ बजारमा ४ सय वटा व्यवसायिक स्टलहरु रहेका छन्।
