पोखरा । पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा लर्नस एकेडेमीले हरेक शुक्रबार ‘पुस्तकसँग अन्तर्क्रिया’ कार्यक्रम आयोजना गर्दै आएको छ। यस अभियानको मूल उद्देश्य हो— “पढौं, बाँडौं, प्रेरणा जगाऔं”। प्रत्येक पुस्तकमा एउटा कथा चयन गरेर कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई सहभागी गराइन्छ।
शुक्रबारको कार्यक्रममा पर्यटन विज्ञ तथा लेखक दिपेन्द्र पहारीले उद्घाटन गर्दै आफैले लेखेका पुस्तक विद्यालयलाई हस्तान्तरण गरे। उनले विद्यालयको पहल रचनात्मक रहेको भन्दै पुस्तकालय विस्तार गर्न सुझाव दिए। उनका अनुसार, आजका विद्यार्थी मोबाइलमा व्यस्त हुने भएकाले पुस्तकको महत्त्व अझै बढेको छ। यसले विद्यार्थीको बोल्ने कला र आत्मविश्वास बढाउने मात्र नभई अभिभावकलाई पनि प्रेरणा दिन सक्छ।
कार्यक्रममा करिब ६० विद्यार्थीले नेपाली तथा अंग्रेजी पुस्तकका कथावस्तु र सन्देश छोटकरीमा प्रस्तुत गरे। विद्यालयका प्राचार्य विधान गौतमले भने, पुस्तक पढ्दा नयाँ विचार, स्थान र भावना अनुभव हुन्छ। अभिभावकहरूले विशेष अवसरमा आफ्ना बालबालिकालाई पुस्तक उपहार दिएर उनीहरूको सिर्जनशीलता र अनुशासनमा सहयोग गर्न सक्छन्।
विद्यार्थीले मञ्चबाट भाव व्यक्त गर्ने कला र प्रस्तुति शैलीलाई उच्च मूल्याङ्कन गरिएको थियो। ५२ हप्तासम्म सञ्चालन हुने यस अभियानले ज्ञानलाई अध्ययनमा परिणत गर्दै जिपिए मात्र नभई जिम्मेवार र सक्षम जनशक्ति निर्माणमा पनि योगदान दिने लक्ष्य राखेको विद्यालयले जनाएको छ।
कार्यक्रमको समापन शिक्षक अजिता घिमिरेले गरेकी थिइन्। उनले सहभागी विद्यार्थी र अभिभावकलाई धन्यवाद दिँदै, यस प्रकारका गतिविधिले विद्यार्थीको सोच र सृजनशीलता बढाउँछ। हामी यो पहल निरन्तरता दिनेछौँ, भनिन्।
