newa srijana

पोखरामा पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौडको तयारी तीव्र

आउँदो असोज ४ गते आयोजना हुने दौडमा खेलाडीका लागि अनलाइन दर्ता सोमबारदेखि खुल्यो, पुरस्कार राशि दोब्बर र विशेष प्रोत्साहन व्यवस्था

पोखरा । पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै, विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ। पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्रान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनु भयो।

अघिल्लो संस्करणका तुलनामा पुरस्कार राशि दोब्बर गरिएको छ भने दुई इभेण्टमा थप गर्दै प्रोत्साहन पुरस्कार व्यवस्था गरिएको उहाँले जनाउनु भयो। प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन्। दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सात हजार, तीन हजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एक हजार नगद, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ।

Mountain run pokhara click

गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँ रहेको थियो। यसैगरी, वडास्तरीय, खुला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सात हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ। प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ। भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन फारम भर्नु पर्ने छ। अनलाइन फारम आज (सोमबार) देखि खुल्ला गरिएको प्रतियोगिताका निर्देशक ओम लामाले बताउनु भयो। यही भदौं २५ गतेसम्म धावकहरुले अनलाइन फारम मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन्। पोखरा क्लिक डटकममा अनलाइन फारम भर्न सकिन्छ।

पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित ७१ पुरुष र ३३ महिला धावकले अनलाइन फाराम भरेकामा प्रतिकुल मौसमका कारण ७९ जना सहभागी भएका थिए। खुलातर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफ क्लवका निरोज भट्ट क्षेत्रीले जित्नु भएको थियो।

हरेक व्यक्ति जननी र जन्मभूमिप्रति ऋणी हुन्छन्, त्यो ऋण चुक्ता गरेर नसकिए तापनि जन्मभूमिलाई विश्वमा परिचित गराउने इरादाका साथ पोखरा क्लिकले आफ्नै क्षेत्रलाई सञ्चार र खेल पर्यटनसँग जोडेर प्रवद्र्धन गराउने उद्देश्यले संस्थाको वार्षिक कार्ययोजनानुसार पर्यटकीय राजधानी पोखरामा उक्त प्रतियोगितालाई यस वर्ष पनि भव्य गर्ने तयारी गरिएको पोखराक्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले जनाउनु भयो।

प्रतियोगितालाई सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि./केसी ग्रुप, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, सहास स्पोट्र्स नेपाल, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका–२२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भर्टाइजिङ, पुइमे फाष्ट फुड एण्ड बार लगायतको सहयोग रहेको छ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका–२२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनर नेलम्बो नेपाल, अफिसियल टेलिभिजन सिटीवान टेलिभिजन, आधिकारिक ड्रिङ्किङ वाटर ग्लेज नेचुरल स्प्रिङ वाटरले उपलब्ध गराउनेछ।

सिटीजन फनिच्रर

उक्त प्रतियोगिता सभ्य एवम् भव्य रूपमा सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने भएको प्रा.लि.का व्यवस्थापक सागर सुनारले बताउनु भयो। प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी ल्याफ्टेनेन्ट कुसाङ गुरुङले प्रायोजन गर्नुभएको छ।

उहाँ अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष अवकार प्राप्त ल्याफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानधारी धावक हुनुका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल प्रतिभा हुनुहुन्छ। यस्तैगरी नेलम्बो नेपालले तेस्रो पुरस्कार पनि प्रायोजन गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बरालले उक्त इभेण्टलाई वडाले आफ्नो चार्डको रुपमा लिएको बताउँदै यसको स्तरोन्नती गर्न विस्तारै हाफ म्याराथनसम्म लैजाने योजना रहेको जनाउनु भयो।

पुम्दी–भुम्दीमा सडक निर्माणसँगै पदमार्गहरु निर्माण भएको तथा ताल पारीको क्षेत्रमा इको टुरिजमको सम्भावना उजागर गर्न राउण्ड फेवा, भ्यू फेवा जस्ता परियोजना सुरु भएको उहाँले जनाउनु भयो।

पोखरा पर्यटन परिषद् का पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले उक्त दौडलाई ८ किलोमिटरबाट बढाउँदै हाफ म्याराथन हुदै लेकसाइडदेखि पञ्चासेसम्मको म्याराथन दौड गर्न सुझाव दिनुभयो। तालपारि इको टुरिजमको सम्भावना भएकोले गगन चुम्वी भवनहरु नबनाउन उहाँले आग्रह गर्नुभयो।

पोखरा पर्यटन परिषद् का प्रथम उपाध्यक्ष हरि बहादुर भुजेलले विश्व पर्यटन दिवसको अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावक बढी सहभागि गराउन पहल गर्ने वचन दिनुभयो।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पोखरा र पुम्दी–भुम्दीलाई विश्व सामु परिचित गराउन उक्त इभेण्टले थप मद्दत पुग्ने बताउनु भयो।

विश्व शान्ति स्तुप समितिका अध्यक्ष असोक गुरुङले दौडको सुरुवात शान्ति स्तुपबाट हुने भएकोले आवश्यक व्यवस्थापनमा सहयोग गर्ने बताउनु भयो।

प्रतियोगिताका प्राविधिक ओम गुरुङले यसपाली हावा, हुरी र पानी आए पनि प्रतियोगिता निर्धारित समयमै हुने गरी तयारी हुने बताउनु भयो।

पोखरा–२२ को वडा युवा परिषद् का अध्यक्ष दिनेश बरालले प्रतियोगिता गाउँकै नयाँ ब्राण्ड भएकोले सफल पार्न आफूहरु कटिबद्ध रहेको जनाउनु भयो।

Rabin photo