पोखरा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विभिन्न व्यापारिक समूहले साथ दिने भएका छन्।
टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीको मुख्य प्रायोजनमा ६ देखि १५ भदौसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सम्पन्न गर्न टुर्बोग वियरले सह–प्रायोजनसगै गृहलक्ष्मी ग्यास, सालिको इन्स्योरेन्स, कर्मा इन्टरनेशनल इम्पोलिमिट सर्भिस प्रालि काठमाडौँ, बाल्ट्रा होम एप्लिकेसनले उप–प्रायोजन गर्ने भएका छन्।
उनीहरूसगै कम्पिलिट गार्डेन पोखरा न्यूरोड, कुटि रिसोर्ट पोखरा लेकसाईडले सहयोगी, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग र सामाजिक विकास यूवा तगा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले र पोखरा महानगरपालिकाले प्रवद्रन गर्ने भएका छन्, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
१० दिने महोत्सवमा दैनिक उपभोग्य, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा लगायत विभिन्न एक सय ५० व्यापारिक स्टलहरू, १२ रेस्टुरेन्टका स्टल र वाल उद्यान रहनेछन्। यसैगरी महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहनेछ। व्यापारिक र रेस्टुरेन्टका सम्पूर्ण स्टलहरू बुकिङ भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिए।
महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी–जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिने उनले बताए।
ऐतिहासिक टुँडिखेलको संरक्षण, परम्परागत नेपाली कला–संस्कृतिको संरक्षण, महिला दिदी–बहिनीहरूले उत्पादित वस्तुहरूको प्रदर्शनी, नृत्य र संगीतमार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रूपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना गर्ने, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सांस्कृतिक, खेलकुद तथा ज्ञानवर्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीका बालबालिकाहरूको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवासीय क्रियाक्रम भवनलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको छ।
महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च र चार लाख ५० हजार बचत हुने अनुमान गरिएको छ, र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने जानकारी दिइएको छ।
