newa srijana

गण्डकी हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ अध्यक्षमा घिमिरे पुनः निर्वाचित

पोखरा । नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा अमृत घिमिरे पुनः निर्वाचित भएका छन्। पोखरामा सोमबार सम्पन्न दोस्रो साधारण सभा र पहिलो अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।

समितिको उपाध्यक्षमा बालकृष्ण कोइराला, महासचिवमा भिमसेन क्षेत्री (भीम केसी), र कोषाध्यक्षमा लिला मोहन कुइक चयन भएका छन्। सदस्यको रूपमा मंगल कुमाल, उमानाथ आचार्य र प्रेमबहादुर घिमिरे चयन भएका छन्।

कार्यक्रमको उद्घाटन नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माले गर्नुभएको थियो। अध्यक्ष शर्माले भने, हेभी ईक्विपमेन्ट चालकको लाइसेन्स खुल्न नसक्दा व्यवसायीहरू समस्या भोगिरहेका छन्। सातै प्रदेशमा यातायात कार्यालय भए पनि परिक्षाका लागि काठमाडौं धाउनुपरेको छ। सवारीको नामसारी र करसम्बन्धी समस्याले पनि व्यवसायीहरूलाई कठिनाइमा पारेको छ।

World link net

शर्माले व्यवसायलाई अघि बढाउन देशभरका व्यवसायीलाई एकीकृत गरेर सहकार्य गर्ने योजना रहेको पनि बताए। यसका लागि महासंघले आधिकारिक वेबसाइट निर्माण गरिरहेको जानकारी उनले दिए।

पोखरामा हेभी ईक्विपमेन्ट डिपो सञ्चालन गर्ने व्यवसायी नारायण पैडेलले भने, बजारको माग अनुसार नयाँ इक्विपमेन्ट उपलब्ध गराइरहेका छौँ। गण्डकी प्रदेशमा ६० प्रतिशत मार्केट अटो वेजले ओगटेको छ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष डा. ताराबहादुर कँुवर, निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ, नेपाल उद्योग व्यापार महासंघ गण्डकीका अध्यक्ष जनक पराजुली, र अटो वेज प्रालिका कार्यकारी अधिकृत सन्ध्या पौडेलले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ कास्कीका अध्यक्ष बालकृष्ण कोइरालाले राखेका थिए भने कार्यक्रम संचालन सचिव भिमसेन केसी (भीम) ले गरेका थिए।

सिटीजन फनिच्रर