सुचना१
हेमाजा हिले महोत्सव

लामाचौरमा २७ औं तीज महोत्सव भदौ ८ देखि १० गतेसम्म

पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले आयोजना गर्ने २७ औं संस्करणको लामाचौर तीज महोत्सव–२०८२ आगामी भदौ ८ देखि १० गतेसम्म हुने भएको छ । संस्थाको २९ औं वार्षिकोत्सवसँगै इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय प्रांगणमा महोत्सव आयोजना गर्न लागिएको हो ।

मंगलबार पत्रकार सम्मेलनमार्फत संस्थाका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जानकारी दिए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने नारासहित आयोजना हुने महोत्सवको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हुनेछ । यससँगै तीज गीत प्रतियोगिता र अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता पनि हुनेछ ।

खुला पुरुष भलिबल विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अन्तरमावि छात्रा भलिबल विजेताले १ लाख, उपविजेताले ५० हजार र उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछन् । दुवै प्रतियोगितामा उत्कृष्ट विधालाई थप आकर्षक पुरस्कार दिइनेछ ।

तीज गीत प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना टोलीलाई १० हजार रुपैयाँसहित सहभागी सबै टिमलाई प्रोत्साहनस्वरूप २ हजार रुपैयाँ दिइनेछ । लोकनृत्य प्रतियोगितामा क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ भने तीन टोलीलाई सान्त्वना र उत्कृष्ट भेषभूषा विधालाई ५ हजार रुपैयाँ दिइनेछ ।

महोत्सवमा ५० भन्दा बढी औद्योगिक तथा व्यापारिक स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम हुनेछन् । लोकदोहोरी कलाकार प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ र लक्ष्मी नेपालीलगायतको प्रस्तुति रहनेछ ।

महोत्सव सञ्चालनमा करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बचत रकम आकस्मिक सेवा तथा महोत्सव सञ्चालन कोषमा थप गरिने आयोजनाले जनाएको छ । २०५४ सालदेखि मेला आयोजना गर्दै आएको नाकोड्सले एम्बुलेन्स, शववाहक सेवा सञ्चालनसँगै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ ।

डिसहोम फाइबर नेटको मुख्य प्रायोजनमा हुने महोत्सवमा हिमश्री फुड्स प्रालिको रारा चाउचाउ र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रमशः खुला र अन्तरमावि छात्रा भलिबल तर्फ टाइटल प्रायोजन गरेका छन् । संरक्षकमा पोखरा महानगरपालिका वडा नम्बर १९ र १६ रहेका छन् भने गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठान प्रवद्र्धक रहेका छन् । नेपाल भलिबल संघ, प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, जिल्ला भलिबल संघ र पोखरा प्रज्ञा प्रतिष्ठानलगायत सहयोगी संस्था रहेका छन् ।

कार्यक्रम अध्यक्ष दिनेश भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले गरेका थिए भने सञ्चालन सचिव शोभा बानियाँले गरेकी थिइन् । यसैबीच लामाचौरस्थित सरस्वती आदर्श विद्याश्रमले आयोजकलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयका प्राचार्य कृष्ण गुरुङले उक्त रकम अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

वडा नं २६
Sadak 1
पुल सेन्टर