पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले हरितालिका तिजको अवसरमा एगासँग सम्बन्धित पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालका अनुसार, संस्थाले वर्षभरि विभिन्न महत्वपूर्ण चाडपर्व लक्षित कार्यक्रम गर्दै आएको छ र तिजको अवसरमा पनि यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो।
पोखराको लेकसाइडस्थित होटेल पौवामा सम्पन्न कार्यक्रममा करिब ५६ जनाको सहभागिता थियो। कार्यक्रममा पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले तिजलाई महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताउँदै यसको मौलिकता जोगाउनु आवश्यक रहेको औँल्याउनुभयो।
कार्यसमिति सदस्य र कार्यक्रम संयोजक सुन्ती पुर्जाले सबैको सहकार्य र समन्वयमा कार्यक्रम सफल भएको बताएर आगामी दिनमा पनि यस्तै समर्थन आवश्यक हुनेमा जोड दिनुभयो।
कार्यक्रम एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यसमिति सदस्य रामकृष्ण तिमल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उपाध्यक्ष गीता ढकाल पौडेलले सहभागिहरूको स्वागत गर्नुभएको थियो।
कार्यक्रममा सद्भाव सदस्य गोविन्द अधिकारी, कमल सापकोटा, र पूर्व अध्यक्षहरू जीवनाथ गौतम, कृष्णकुमार श्रेष्ठ, शंकर भट्टराई, विश्वराज पोखरेललगायतले तिजको सांस्कृतिक महत्व र शुभकामना व्यक्त गर्नुभयो।
