सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा महिला अधिकार र समानताबारे अभिमुखीकरण कार्यक्रम

प्रदेशभरिका महिला नेतृ, पत्रकार र सामाजिक अभियन्ताले विभेद, हिंसा र अन्यायविरुद्ध सचेतना र अनुभव साझा गरे

पोखरा । महिला अधिकार र समानताबारे सचेतना फैलाउने उद्देश्यले बुधबार पोखरामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ (गोनेसा) को सहयोगमा सम्पन्न भयो। प्रदेशभरिका महिला नेतृ, पत्रकार र सामाजिक अभियन्ता कार्यक्रममा सहभागी थिए।

गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाले उद्घाटन कार्यक्रममा महिलाले भोगिरहेकाहरूका विभेद, हिंसा र अन्यायविरुद्ध आवाज उठाउन आवश्यक रहेकोमा जोड दिइन्। उनले भनिन्, आज पनि महिलाले विभेद, हिंसा र अन्याय भोग्नुपर्दै आएको छ। यसको विरुद्ध हरेक महिलाले आफ्नो आवाज उठाउनुपर्छ।

महिला समावेशी नीति बने पनि व्यवहारमा पूर्ण रूपमा लागू हुन नसकेको उल्लेख गर्दै, सञ्चारिका समूह गण्डकीकी अध्यक्ष कविता श्रेष्ठले हरेक संस्था र समुदायमा जेन्डर समानता नीतिलाई व्यवहारमा उतार्न विशेष ध्यान दिनुपर्ने बताइन्।

महिलामाथि हुने हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिँदै समाजमा अझै विद्यमान बोक्सी प्रथा र अन्य कुरीतिलाई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याइन्, गोनेसाकी प्रशिक्षक सवनम शर्माले। उनले भनिन्, नेपालको संविधानले हिंसा वा दुव्र्यवहार भोग्ने प्रत्येक पीडितलाई कानुनी उजुरीको अधिकार दिएको छ। अब पीडितहरूले आफ्नो हक प्रयोग गर्नुपर्छ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, क्रियाशील महिला पत्रकार महासंघकी अध्यक्ष सरिता तिमल्सिना पंगेनी, इन्सेकका संयोजक गणेश भण्डारी, गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्मा र वरिष्ठ पत्रकार श्याम कुवँरले आफ्ना अनुभव र विचार प्रस्तुत गरे।

आदिवासी जनजाति पत्रकार महासंघ (फोेनिज) का गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, फेडोका प्रदेश अध्यक्ष सुमित्रा गायक, सदस्य गंगा सापकोटा र कार्यक्रम संयोजक ईश्वरी विक पनि कार्यक्रममा सहभागी थिए। कार्यक्रम सञ्चारिका समूह गण्डकीकी कोषाध्यक्ष उमा आलेमगरको सञ्चालनमा भएको थियो।

वडा नं २६
Sadak 1
पुल सेन्टर