newa srijana

पातञ्जल योग समिती नेपालको चौथो महाधिवेशन पोखरामा सुरु, तीन दिने योग विज्ञान शिविर संचालन

पोखरा । पातञ्जल योग समिती नेपाल, गण्डकी प्रदेशको चौथो केन्द्रीय महाधिवेशन तथा आठौँ वार्षिक साधारणसभा बिहीबार पोखरामा सुरु भएको छ। महाधिवेशनको अवसर पारेर समितीले तीन दिने योग विज्ञान शिविर समेत सुरु गरेको छ।

पोखरा–११ फुलबारीस्थित रञ्जित इभेन्ट सेन्टरमा सुरु भएको योग शिविर भदौ १५ गतेसम्म चल्नेछ। शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने समितीले जनाएको छ। महाधिवेशनको दोस्रो दिन शुक्रबार अपरान्ह कास्कीका यौगिक संस्थाहरू र सरोकारवालासहित “योगको विकासमा यौगिक संस्थाहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम हुने तयारी संयोजक कमला गुरुङले जानकारी दिइन्।

महाधिवेशनको मुख्य दिन भदौ १४ गते बिहान योग शिविरपछि सातै प्रदेश र ३४ जिल्लाबाट आएका प्रतिनिधिहरूको सहभागितामा प्रभातफेरी निकालिनेछ। रञ्जित इभेन्ट सेन्टरबाट सुरु हुने प्रभातफेरी नयाँ बजार, महेन्द्रपुल, रानीपौवा हुँदै पुनः महाधिवेशन स्थलमै समापन गरिनेछ। यसक्रममा धिमेबाजासहितको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने समितीले जनाएको छ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

त्यसैदिन “सुवाल अवार्ड” वितरण गरिनेछ। समितीका केन्द्रीय अध्यक्ष वालमुकुन्द सुवालले योग साधना क्षेत्रमा उत्कृष्टता हासिल गरेका जिल्ला र योग केन्द्रलाई यो अवार्ड प्रदान गरिने बताए। साथै महाधिवेशन विशेषांक बुलेटिन–२०८२ र “पातञ्जल योग दर्शन” पुस्तिकाको विमोचन पनि हुने वरिष्ठ उपाध्यक्ष डा. नवराज काफ्लेले जानकारी गराए।

वि.सं. २०७५ असोज १५ गते स्थापना भएको पातञ्जल योग समिती नेपालले राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, वैधानिकता र पारदर्शितालाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको छ। हालसम्म सातै प्रदेश र ३४ जिल्लामा संगठन विस्तार गरिसकेको समितीले आगामी पाँच वर्षभित्र देशका सबै ७७ जिल्लामा पुग्ने लक्ष्य लिएको जनाएको छ।

महाधिवेशनपछि भदौ १७ गतेसम्म मौन साधनासहितको योग ध्यान तथा प्रशिक्षण शिविर सञ्चालन गरिनेछ। समितीले नियमित रूपमा योग शिविर, गोष्ठी, अन्तरक्रिया, विद्यालयस्तरमा योग वक्तृत्वकला प्रतियोगिता, योग प्रशिक्षण तथा योग खेलकुद प्रतियोगिता जस्ता गतिविधिहरू गर्दै आएको छ।

Rabin photo