newa srijana

‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’बाट काफ्ले सम्मानित

पोखरा । होलिडे एडभेन्चर टुर्स एन्ड ट्राभल्स पोखराका व्यवस्थापक चिरञ्जीवी काफ्ले ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’बाट सम्मानित भएका छन्।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको ३०औं वार्षिक साधारणसभामा काफ्लेलाई दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

तनहुँमा जन्मिएका काफ्ले वि.सं. २०७० साउन १० गतेदेखि होलिडे एडभेन्चर टुर्स एन्ड ट्राभल्समा आवद्ध भई निरन्तर पर्यटन क्षेत्रमा योगदान दिँदै आएका छन्। विशेषगरी पर्यटकीय सवारी सेवामा दक्ष काफ्ले यस क्षेत्रका अनुकरणीय व्यक्तिका रूपमा परिचित छन्।

सिटीजन फनिच्रर

यो पुरस्कार नाट्टा गण्डकीका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी आमा स्व. मनोहरा सिग्देलको स्मृतिमा स्थापना गरेका एक लाख एघार हजार रुपैयाँको अक्षय कोषबाट प्रदान गरिन्छ। उक्त कोषबाट हरेक वर्ष नाट्टा गण्डकीका सदस्य कम्पनीहरूमध्ये कार्यकालका हिसाबले सबैभन्दा पुराना कर्मचारीलाई सम्मान गर्ने परम्परा छ।

यस पटकको सम्मान छनोट समितिमा नाट्टा गण्डकीका द्वितीय उपाध्यक्ष राजेश पहारी संयोजक रहेका थिए भने सन्दीप श्रेष्ठ, छविरमण पौडेल, पदम आचार्य र बासुदेव त्रिपाठी सदस्य थिए। समितिको सिफारिसमा आधारित रही काफ्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो।

यसअघि यो पुरस्कार नाट्टाका देवराज देवकोटा, एडम टुर्स एन्ड ट्राभल्सका अशोक पौडेल, त्रिथुङा टुर्स एन्ड ट्राभल्सका निराजन कुँवर र टेम्पल ट्री टुर्स एन्ड ट्राभल्सका रामप्रसाद दुवाडीलाई प्रदान भइसकेको छ।

अनिल multipurpose
आहा रारा
वडा नं २६