पोखरा । नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशको पद सम्हाल्दै न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको नीति लिएकी सुशीला कार्की अहिले मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। निष्पक्ष निर्णय र हक्की स्वभावकै कारण उहाँ नयाँ पुस्ताको रोजाइमा पर्नुभयो।
२००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी कार्कीको विवाह प्रजातान्त्रिक सेनानी दुर्गा सुबेदीसँग भएको हो, जो काँग्रेस नेता बीपी कोइरालाको परिवारसँग नजिकका व्यक्ति हुन्। त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक गरेकी कार्कीले २०४२ देखि २०४६ सालसम्म धरानको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनसमेत गरिन्।
वकालत यात्राको सुरुवात कार्कीले विराटनगरको पुनरावेदन अदालतबाट २०३५ सालमा बार अध्यक्ष भएर गरिन्। २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेपछि २०६५ सालमा सर्वोच्च अदालतकी अस्थायी न्यायाधीश नियुक्त भइन्। २०६७ सालमा स्थायी न्यायाधीश बनिन् र २०७३ असार २७ मा सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीशमा नियुक्त भइन्।
प्रधानन्यायाधीशको भूमिकामा रहँदा कार्कीले चर्चित मुद्दामा साहसिक फैसला गरिन्। विशेषगरी लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख पदबाट हटाउने निर्णयपछि उहाँ न्यायिक क्षेत्रमा लोकप्रिय भइन्। तर २०७४ वैशाख १७ मा तत्कालीन सत्ता गठबन्धनले २४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव दर्ता गरेपछि उहाँ निलम्बनमा परेकी थिइन्। प्रतिपक्षी दलहरूको विरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाभियोग निष्प्रभावी भयो र कार्की पुनः पदमा फर्किन सफल भइन्।
२०७४ जेठ २४ सम्म प्रधानन्यायाधीशको पदमा रहेकी कार्की निष्पक्ष, दृढ र हक्की स्वभावका कारण चिनिइन्। यही गुणले उहाँलाई राजनीतिमा समेत विश्वासिलो विकल्प बनायो। नयाँ पुस्ताले स्वच्छ नेतृत्वको आशा गर्दै उहाँलाई समर्थन गरेसँगै उहाँ मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।
