सुचना१
हेमाजा हिले महोत्सव

पत्रकार आरजूको जन्मदिन रक्तदानमार्फत् मनाइयो

पोखरा । पोखराका सक्रिय पत्रकार आरजू बिष्ट सल्यानीले आफ्नो जन्मदिनको अवसरमा आईतबार रक्तदान गरेकी छन्। यो उनको २५औँ पटकको रक्तदान हो।

रेडक्रस कास्कीमा आयोजना गरिएको कार्यक्रममा उनले रक्तदानलाई जन्मोत्सव मनाउने सबैभन्दा अर्थपूर्ण तरिका भन्दै निरन्तर सामाजिक सेवामा आफू संलग्न रहन चाहेको बताइन्। उनी २०५० सालमा काठमाडौंमा पहिलोपटक रक्तदान गरिसकेकी हुन्।

कार्यक्रममा ८२ पटक रक्तदान गरिसकेका अभियन्ता कृष्ण थापाले जन्मदिनलाई रक्तदान जस्तो पुनीत कार्यले मनाउन सके अरू कार्यको आवश्यकता नपर्ने धारणा राखे। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिव जमुना शर्मा वर्षाले आठौँ पटक रक्तदान गर्दै, रेडक्रसको मानवतामूलक सेवासँगै सञ्चार जगत्ले यस अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिइन्।

रेडक्रस कास्कीका योजनाबारे जानकारी दिँदै मन्त्री सन्तोष अधिकारीले विपद् अघि, विपद् हुँदा र विपद् पछिका दिनमा रेडक्रसले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे। रक्त सञ्चार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले १८ वर्ष पुगेका र ४५ किलोभन्दा बढी तौल भएका महिला–पुरुषले नियमित रक्तदान गर्न सक्ने बताए। उनका अनुसार, यस कार्यले आफैंलाई स्वस्थ राख्ने मात्र नभई अरुको जीवन बचाउन ठूलो योगदान दिन्छ।

रेडक्रस कास्कीकी सभापति उर्मिला खड्काले प्रदेशमा रगत निःशुल्क उपलब्ध गराइरहेको र पत्रकार तथा सञ्चारमाध्यमको निरन्तर सहयोगले रगत संकलनलाई सहज बनाएको बताइन्। उनले २०५८ सालदेखि रेडियो अन्नपूर्ण, पत्रकार आरजू बिष्टलगायतको योगदान विशेष रहेको उल्लेख गरिन्। सिर्जनाचोकस्थित रेडक्रस केन्द्रमा दैनिक २५ युनिट रगत संकलनको आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्न आग्रह गरियो।

कार्यक्रममा रेडक्रसकर्मी र पदाधिकारीहरूमध्ये महिला उपसभापति रमा कोईराला, कोषाध्यक्ष मोहनसिंह खड्का, उपमन्त्री दिल्लिराम वराल, उपकोषाध्यक्ष कालिदास सापकोटा, सदस्यहरू खगेन्द्र पराजुली, पार्वती कार्की, कमलप्रसाद पौडेल, पत्रकार तथा आरदायूका अभियन्ता हरिश्चन्द्र शर्मा, पत्रकार श्याम कुँवर, रोजी श्रेष्ठ, सविन रेग्मी, तीर्थ केसी, तारा पौडेल, शुसिल श्रेष्ठ, कमलराज खनाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन रक्तदान अभियन्ता कृष्ण थापाले गरेका थिए।

वडा नं २६
Sadak 1
पुल सेन्टर