पोखरा । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले सोमबार पद तथा गोपनीयताको शपथपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन्। पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको उल्लेख गर्दै राजनीतिक स्थायित्व र पुनःनिर्माण अब सरकारले पूरा गर्नुपर्ने प्रमुख दायित्व भएको बताए।
मन्त्री घिसिङले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अन्तरिम सरकारको जिम्मेवारी रहेको स्पष्ट गर्दै आफूले ऊर्जा क्षेत्रमा द्रुत गतिमा काम गर्ने घोषणा गरे। उनले “उज्यालो नेपाल” अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता पनि जनाए।
‘नेपाल अहिले आर्थिक र राजनीतिक संकटको अवस्थाबाट गुज्रिरहेको छ,’ उनले भने, ‘यस्तो परिस्थितिमा देशभित्रका व्यवसायी र विदेशमा रहेका नेपाली सबैले हातेमालो गर्नुपर्छ।’ उनले पुनःनिर्माणका लागि छुट्टै कोष स्थापना गरी सबै क्षेत्रबाट सहयोग संकलन गर्ने योजना अघि सारे।
पदभार ग्रहणलगत्तै मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता तत्काल उठाउन निर्देशन दिए। यही निर्णय उनले जिम्मेवारी सम्हाल्ने क्रममा पहिलो कार्यका रूपमा अघि सारेका हुन्।
त्यस अवसरमा उनले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। साथै, प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील रहने विश्वास दिलाए।
शीतल निवासमा शपथग्रहण गरेपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइतेहरूसँग भेट गरेर मात्र मन्त्रालय पुगेका थिए। जिम्मेवारी सम्हाल्दै उनले पुनःनिर्माण, राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई अवतरण गराउने संकल्प व्यक्त गरे।
