पोखरा । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार (भदौ ३०) सिंहदरबारमा पदभार ग्रहणसँगै जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूको सम्मानमा राष्ट्रव्यापी निर्णय गरेका छन्।
गृहमन्त्री अर्यालले मृतकको परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँ काजकिरिया खर्च दिने निर्णय गरेका छन्। उनले भने, “जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनामा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई काजकिरियाका लागि आर्थिक राहत उपलब्ध गराइनेछ। रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ।”
साथै, मृतकको शव घरसम्म पुर्याउन सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउनेछ। दुर्गम क्षेत्रका लागि भने हेलिकोप्टरको व्यवस्था समेत गरिने निर्णय गरिएको छ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर भएका हिंसात्मक घटनाको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन हुने जानकारी दिएका छन्। यसअन्तर्गत घटनाका कारण, जिम्मेवार पक्ष र अन्य सम्बन्धित विवरणको अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिने छ।
त्यसैगरी, मृतकको सम्मानस्वरूप राष्ट्रिय शोक मनाइने निर्णय भएको छ। यस क्रममा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। उनीहरूले भने, “प्रदर्शनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मान स्वरूप राष्ट्रिय शोक मनाइने छ। मृतकको परिवारको माग अनुसार शव व्यवस्थापन र काजकिरिया खर्चको व्यवस्था पनि गरिनेछ।”
यसअघि सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिसकेको छ। मन्त्रिपरिषद् बैठक बसेर राष्ट्रिय शोकको मिति र अन्य औपचारिकता तय गरिनेछ।
