सुचना१
हेमाजा हिले महोत्सव

कोशिश नेपालद्वारा ‘जीवन संरक्षण तालिम’ सम्पन्न

समुदायमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना फैलाउने र व्यवहारिक सहयोगका उपाय सिकाउने उद्देश्य

पोखरा । आत्महत्या रोकथामको विषयलाई संवेदनशील तरिकाले अघि बढाउँदै कोशिश नेपालले ‘जीवन संरक्षण सम्बन्धी तालिम’ आयोजना गरेको छ। सेप्टेम्बर १० का दिन, विश्वभर मनाइने आत्महत्या रोकथाम दिवसकै सन्दर्भमा गरिएको यस तालिमको उद्देश्य सरोकारवालालाई सचेत बनाउने र समुदायस्तरमै व्यवहारिक समाधान खोज्नु रहेको थियो।

‘संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने नारासहित सुरु गरिएको अभियानले आत्महत्या केवल व्यक्तिगत पीडा मात्र नभई सार्वजनिक स्वास्थ्यसम्बन्धी गम्भीर समस्या भएको सन्देश दिन खोजेको छ। परम्परागत धारणा अनुसार आत्महत्या विषयमा खुलेर कुरा गर्नु हुँदैन भन्ने विश्वासलाई चुनौती दिँदै, यस वर्षको अभियानले समुदायभित्र खुला संवाद आवश्यक रहेकोमा जोड दिएको छ।

नेपाल सरकारले पनि आत्महत्या न्यूनीकरणका लागि कानुनी र संस्थागत पहल अघि बढाएको छ। मुलुकी अपराध संहिता २०७४ ले आत्महत्या गर्न प्रोत्साहित नगर्न प्रावधान राखेको छ भने मानसिक स्वास्थ्य अस्पताल, लगनखेलमार्फत २४ घण्टा उपलब्ध ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा छ। साथै राष्ट्रिय स्वास्थ्य शिक्षा समूहले संचारकर्मीहरूका लागि २०८० मा आत्महत्या सम्बन्धी मार्गदर्शन जारी गरेको छ।

तालिममा सहभागीहरूलाई आत्महत्या रोकथामका व्यवहारिक उपायहरूमा ध्यान केन्द्रित गर्न सुझाव दिइयो। कसैलाई सहयोग गर्ने क्रममा उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने, गोपनीयता कायम राख्ने, सुरक्षित वातावरण सिर्जना गर्ने, जोखिम बढाउने सामग्री टाढा राख्ने, सम्मानजनक व्यवहार गर्ने र आवश्यक परेमा तत्काल हटलाइन सेवासँग सम्पर्क गर्ने तरिकाहरू साझा गरियो।

विश्व स्वास्थ्य संगठनका तथ्यांक अनुसार हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक गरिएको छ। १५–२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको चौथो प्रमुख कारण रहेको देखिन्छ। नेपाल अनुसन्धान परिषद्ले २०२० मा गरेको अध्ययनअनुसार वयस्कमध्ये ७.२ प्रतिशत र किशोरकिशोरीमध्ये ४.२ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच वा जोखिम रहेको निष्कर्ष आएको छ।

सामुदायिक सरोकारवालाहरूले समुदायमै सचेतना फैलाउने, जोखिममा रहेका व्यक्तिलाई संवेदनशीलतापूर्वक सहयोग गर्ने र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। यस तालिमको संचालन कोशिश नेपालका प्रशिक्षक विजय राईले गरेका थिए। तालिममा स्वास्थ्यकर्मी, विद्यालय शिक्षक र स्थानीय प्रतिनिधिहरू सहभागी थिए।

वडा नं २६
Sadak 1
पुल सेन्टर