newa srijana

अन्नपूर्णमा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

गाउँमै विशेषज्ञ टोलीले ३ सय ८४ स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गरायो, सचेतनामा जोड

पोखरा । अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा सेप्टेम्बर २९ का दिन निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न भएको छ, जसले गाउँवासीमा स्वास्थ्य सचेतना बढाउने अवसर प्रदान गरेको छ।

शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गाउँमै विशेषज्ञ टोलीले सेवा पुर्‍याएकोमा खुशी व्यक्त गर्दै स्थानीयवासीलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन र उपलब्ध अवसरको सदुपयोग गर्न आग्रह गरे। उनले भने, स्वस्थ जीवनशैली अपनाउनु र नियमित जाँच गराउनु आजको आवश्यकता हो। गाउँमै विशेषज्ञ टोली आएर सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्नु ठूलो अवसर हो।

स्वस्थ मुटु नेपालका अध्यक्ष डा. सूर्य देवकोटाले मुख्य वक्ताका रूपमा उपस्थित हुँदै व्यस्त जीवनशैली, असन्तुलित खानपान, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, तौल असन्तुलन र व्यायामको कमी मुटु रोगका प्रमुख कारण भएको बताए। उनले सहभागीहरूलाई सचेत रहन, स्वस्थ खानपान अपनाउन, नियमित व्यायाम गर्न र पर्याप्त आराम लिन विशेष सल्लाह दिए।

Mountain run pokhara click

कार्यक्रममा स्थानीयवासीको सहज पहुँच सुनिश्चित गर्न टाइगर ग्रुप अफ पोखरा नेपाल, जयन्ती मेमोरियल ट्रस्ट नेपाल, ग्रीन सिटी हस्पिटल काठमाडौं, होटल पिस प्लाजा लगायतका संस्थाले निःशुल्क परीक्षण र औषधि वितरणमा सहयोग गरेका थिए।

सिटीजन फनिच्रर

स्वस्थ मुटु नेपालका सदस्य इन्द्रप्रसाद पौडेलले अन्नपूर्ण गाउँपालिकामा स्वास्थ्य कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले स्वास्थ्य जीवनशैली सुधार्न र स्वास्थ्यमा समस्या परे पनि लुकावट नगरी आफ्ना समस्याहरू खुलस्त रूपमा प्रस्तुत गर्न सबैमा आग्रह गरे। अन्नपूर्ण गाउँपालिकाले यस्ता कार्यक्रमहरू हालैदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको छ भने भविष्यमा पनि निरन्तर चलाउने प्रतिबद्धता जनाएको छ।

शिविरमा ३ सय ८४ जना सेवाग्राहीले प्रत्यक्ष लाभ उठाए। २ सय २४ जनाको इको र २ सय ४९ जनाको ईसिजि परीक्षण गरिएको थियो। आवश्यक परेमा निःशुल्क औषधि पनि वितरण गरिएको स्वस्थ मुटु नेपालका सचिव प्रकाश विक्रम जिसीले जानकारी दिए।

मेडिकल टोलीमा मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. सूर्य देवकोटा, डा. मनीष दाहाल, डा. श्याम ढोदारी, डा. सौगात अधिकारी, टेक्निसियन यम बहादुर कुमाल, अन्नपूर्ण–१ र अन्नपूर्ण–४ घर भएका डा. आशिष अधिकारी तथा डा. आशिष पौडेल, अन्नपूर्ण आधारभूत अस्पतालकी डा. सोनी केसी, गण्डकी मेडिकल कलेजका डा. मधु रोका र डा. प्रेरणा पराजुली लगायतको विशेषज्ञ टोली खटिएको थियो।

कार्यक्रमको अध्यक्षता डा. सूर्य देवकोटाले गरेका थिए भने उपाध्यक्ष भरतराज पराजुलीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन डा. प्रेरणा पराजुलीले गरेकी थिइन्।

Rabin photo