पोखरा । पोखराको तालबराही मा.वि., बैदाम–६ को सभाहलमा साहित्य शृङ्खलाको नियमित २७६औं रचना वाचन कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम ‘सांस्कृतिक रूपान्तरणमा साहित्यिक क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी, रचना वाचन तथा गीत–सङ्गीतसहित सम्पन्न भएको थियो।
उपप्राध्यापक परशुराम कोइरालाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ नारायण मरासिनीले टिप्पणी गर्दै सांस्कृतिक रूपान्तरण गहन विषय भएको र यसबारे लेखन सहज नभएको बताए। कार्यपत्रले विषयलाई व्यवस्थित रूपमा उठाएको भन्दै उनले आभार व्यक्त गरे।
मार्क्सवादी अध्ययन स्रोत केन्द्रका अध्यक्ष झलकपाणी तिवारीले नेपाली समाजमा अझै पनि पुरानै परम्परागत सांस्कृतिक चिन्तन हावी रहेकोप्रति चिन्ता व्यक्त गर्दै राज्यबाट परिवर्तनको पक्षमा आवाज नउठेकोमा आपत्ति जनाए। क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य केशबहादुर परियारसहित अन्य नेताहरूले कम्युनिष्ट झण्डा समाउनेहरू समेत पुरातनपन्थी संस्कृतिमा अल्झिएको भन्दै कटाक्ष गरे।
संस्थाका सल्लाहकार तथा परिश्रमी प्रतिभा पुरस्कारका संस्थापक नारायण परिश्रमीले संस्कार–संस्कृति झनझन् बोझिलो बन्दै गएको बताए। उनले समाजअनुकूल संस्कृतिको आवश्यकता रहेको उल्लेख गरे। अर्का सल्लाहकार धनबहादुर नेपालीले समसामयिक कविता प्रस्तुत गरे।
गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले समाज र संस्कृति रूपान्तरण आफैंबाट सुरु गर्नुपर्नेमा जोड दिए। तालबराही मा.विका प्रधानाध्यापक तारा पोखरेलले कार्यक्रममा नजिकैबाट सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आवश्यक परे शृङ्खलालाई सहयोग गर्ने आश्वासन दिए।
स्याङ्जाका स्रष्टा महेन्द्रमान ब्यथित, लमजुङका मोहन बोहोरा, शृङ्खलाका संस्थापक स्ट्रगल राना, गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङसहित अन्य साहित्यकारहरूले सांस्कृतिक रूपान्तरण अभियानमा लाग्न सुझाए। कार्यक्रममा लघुकथा प्रतिष्ठानका सचिव विष्णु बास्तोला र लघुकथाकार ढाकामोहन बरालले छोटा तर प्रभावशाली लघुकथा वाचन गरे।
यस्तै, नवराज बराल ‘निशान्त’, धर्मराज पौडेल ‘अल्पायु’, छबिलाल आचार्य, ई. नारायण बास्तोला ‘श्रमपन्थी’ लगायतका कविहरूले सन्देशमूलक कविता प्रस्तुत गरे भने सङ्गम सांस्कृतिक मञ्चका कलाकार डी.बी. बान्तवाले जनजागरणमूलक गीत प्रस्तुत गरे। तालबराहीका शिक्षक डिलबहादुर थापाले यथार्थपरक मुक्तक वाचन गरेका थिए।
कार्यक्रममा लोचना अधिकारीले स्वागत मन्तव्य राखे। शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव काजी गाउँलेले सञ्चालन गरेका थिए।
