पोखरा । गण्डकी प्रदेश सरकारका नयाँ प्रमुख सचिव डण्डुराज घिमिरेलाई आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ । निमित्त प्रमुख सचिव रमेश ढकालले माला अर्पण गर्दै प्रदेशको आधिकारिक डायरी हस्तान्तरण गरी घिमिरेलाई स्वागत गरेका थिए ।
स्वागतपछि प्रमुख सचिव घिमिरेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरूको स्मरण गर्दै आफ्नो कार्यशैली छलफल, सल्लाह र रायसुझावका आधारमा सामूहिक निर्णयमा केन्द्रित हुने बताएका छन् । उनले कर्मचारी संयन्त्रलाई विवादरहित बनाइराख्न चुनौतीपूर्ण भए पनि राष्ट्रसेवकको भावना बोकेर काम नगरी जनविश्वास कायम राख्न नसकिने चेतावनी दिए । “शासकीय क्षमतामा सुधार नआए समग्र कर्मचारी संयन्त्रप्रति जनविश्वास घट्छ,” घिमिरेले भने, “त्यसैले राष्ट्र सेवक बन्न मनैबाट समर्पित हुनुपर्छ ।”
३६ वर्ष लामो निजामति सेवाको अनुभव सुनाउँदै घिमिरेले आफूलाई भाग्यमानी ठाने । २०४७ सालमा जिल्ला सहकारी कार्यालय काभ्रेमा सहलेखापालका रूपमा सेवा सुरु गरेका उनले २०५१ मा शाखा अधिकृत, २०५८ मा उपसचिव, २०६९ मा सहसचिव हुँदै हाल गण्डकी प्रदेशमा सचिवका रूपमा जिम्मेवारी पाएका हुन् । दुईपटक सचिवमा बढुवाको निर्णय भइसकेको स्मरण गर्दै उनले यस यात्रालाई आफ्नो पेशागत जीवनको गर्विलो उपलब्धि भनेका छन् ।
नवनियुक्त प्रमुख सचिवले विध्वंसपछिको पुनर्निर्माण, शासकीय क्षमता अभिवृद्धि र पारदर्शी प्रशासनका लागि सबै कर्मचारीलाई समर्पित भावनासहित काम गर्न आह्वान गरे । “अबको लक्ष्य विवादभन्दा टाढा रहँदै नागरिक सेवामा गति ल्याउनु हो,” उनले स्पष्ट पारे, “यसका लागि सबैको साझा प्रयास अपरिहार्य छ ।”
कार्यक्रममा उनले सामाजिक सञ्जाल र मिडियाबाट आउने खबरदारीलाई बेवास्ता नगरी आत्मसात् गर्नुपर्नेमा जोड दिए । “त्रुटि देखे सुधार गर्नुपर्छ,” उनको भनाइ थियो, “सामाजिक सञ्जाल र मिडियाबाट आएका सचेतनालाई नजरअन्दाज गर्नु हानिकारक हुन्छ ।”
प्रेस रजिष्ट्रार विमला भण्डारीका अनुसार जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकारका ४३ वटा चारपाङ्ग्रे र १०४ वटा दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन् । अन्य भौतिक संरचनाको क्षति, वित्तीय विवरण र ध्वस्त सामग्रीको सम्पूर्ण मुचुल्का अझै तयार हुन बाँकी छ । प्रमुख सचिव घिमिरेले शीघ्र मूल्यांकन गरी विस्तृत विवरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री र प्रमुख सचिवको निवास पूर्णरूपमा ध्वस्त भएकाले अस्थायी आवासको व्यवस्था अन्यत्र गरिएको छ । यद्यपि, प्रशासनिक काममा चुस्तता र सेवाको सहज प्रवाहलाई तत्काल प्राथमिकतामा राखी कार्ययोजना अघि बढाइने प्रदेश सरकारले जनाएको छ । यस प्रक्रियामा कस्तो गति आउँछ भन्नेमा कर्मचारी र नागरिक दुबैको ध्यान केन्द्रित भएको छ ।
