पोखरा । पोखरामा सार्वजनिक ट्याक्सी सेवालाई प्रविधिसँग जोड्न ‘मुभइन’ नामक अनलाइन एप सुरु गरिएको छ। यस एपको प्रयोगले ट्याक्सी चालकहरूले मनपरी भाडा लिने गरेको आलोचनालाई अन्त्य गर्दै पारदर्शी र सहज सेवा यात्रुलाई उपलब्ध गराउने अपेक्षा गरिएको छ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले ‘मुभइन’सँगको सहकार्यले पोखराको ट्याक्सी सेवामा ठुलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनका अनुसार यसले ट्याक्सी व्यवसायीलाई प्रविधिको विरोधी भन्ने धारणालाई गलत सावित गर्नेछ।
हालै सार्वजनिक गरिएको एपमा १ हजारभन्दा बढी ट्याक्सी जोडिसकेका छन् भने पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा रहेको तथ्यांक छ। यसले यात्रुलाई आफ्नै घरको गेटबाटै ट्याक्सी बोलाउने सुविधा दिने व्यवसायीहरूको दाबी छ।
पोखराको ट्याक्सी व्यवसाय सुधार्न पोखरेली ट्याक्सी सेवा प्रालिले ल्याएको नयाँ एप सकारात्मक प्रयास हो। निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले सुरक्षित, सहज र प्रविधिमैत्री सेवा दिने आश्वासन दिएका छन्। तर प्रविधि मात्र होइन, पारदर्शी भाडादर र इमानदार व्यवस्थापनले मात्र यसको सफलता सुनिश्चित गर्न सक्छ।
प्राविधिक र लगानीकर्ताहरूले करिब एक वर्ष लगाएर एप तयार गरेका हुन्। ‘मुभइन नेपाल’का प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीका अनुसार यो एप व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका साथ अघि बढाइएको हो। उनको भनाइमा, यात्रुलाई अब भाडा बार्गेनिङ गर्नुपर्ने झन्झट हट्नेछ र सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्नेछ।
प्रारम्भिक चरणमा कम्पनीले चालकहरूबाट कुनै शुल्क नलिने घोषणा गरेको छ। एपमा ‘लाइभ’ देखिन न्यूनतम ५०० रुपैयाँको ब्यालेन्स राख्नुपर्नेछ, तर उक्त रकम काटिने छैन। चालक र यात्रु दुवैलाई सचेतना जगाउँदै एपलाई क्रमशः व्यावसायिक रूपमा विस्तार गर्ने तयारी गरिएको छ।
यस एपलाई पोखराकै आइटी इन्जिनियर रविन तिवारी र उनको ४५ सदस्यीय प्राविधिक टोलीले विकास गरेका हुन्। कम्पनीका अनुसार सेवा विस्तार बिस्तारै देशभर गरिनेछ र विभिन्न व्यवसायी तथा संस्थागत लगानीमा एप सञ्चालनमा आएको हो।
एप सार्वजनिक कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्नुपर्ने माग राखे। उनले ट्याक्सी व्यवसायी प्रविधिमैत्री हुँदै गएको सन्देश ‘मुभइन’ले दिएको बताए।
गत जेठमा मन्त्रिपरिषद्बाट राइड सेयरिङसम्बन्धी नियमावली पारित भएपछि व्यवसायीहरूले चर्को विरोध गरेका थिए। एक सातासम्म देशव्यापी आन्दोलनसहित यातायात ठप्प पारिएको थियो। तर अहिले व्यवसायी आफैं प्रविधिमार्फत ट्याक्सी सेवामा नयाँ विकल्प ल्याउँदै यात्रुलाई पारदर्शी सेवा दिने दिशामा उभिएको देखिएको छ।
