पोखरा । करिब १० करोड रुपैयाँ लागतमा निर्माण गरिएको नेपाल प्रहरीको पेट्रोल पम्प पोखरामा सञ्चालनमा आएको छ। पोखरा–७ शहिदचोकस्थित प्रहरी प्रदेश कार्यालयको परिसर भित्र मंगलबारदेखि पम्पले पेट्रोल र डिजेल बिक्री–वितरण सुरु गरेको हो।
प्रहरी कल्याण कोषको ९ करोड ९६ लाख ६५ हजार रुपैयाँ लागतमा बनेको पम्पबाट २४ घण्टै सेवा दिने व्यवस्था गरिएको नेपाल प्रहरीले जनाएको छ। यसअघि पोखराका अधिकांश पम्प राति बन्द हुने भएकाले उपभोक्ता विशेषगरी आपत्कालीन यात्रु र पर्यटकलाई सास्ती खेप्नुपर्थ्यो। महँगो मूल्य तिरेर अवैध रूपमा इन्धन किन्नुपर्ने बाध्यता पनि थियो।
पम्प निर्माण एक वर्षअघि सुरु भए पनि गत वर्ष असोजमा उजुरीसहित रिट परेपछि काम रोकिएको थियो। उच्च अदालत पोखराले गत पुसमा रिट खारेज गरेपछि निर्माण कार्य अघि बढेको हो। सरकारी कार्यालय क्षेत्रमा पम्प सञ्चालन गर्दा समस्या आउन सक्ने भन्दै सुरुमा आपत्ति जनाइएको थियो।
नयाँ पम्प सञ्चालनमा आएसँगै राष्ट्र बैंकचोक, रत्नचोक, ड्यामसाइड, लेकसाइड र मासबार क्षेत्रका बासिन्दालाई सहज हुने भएको छ। पर्यटकीय सहर पोखरामा चौविसै घण्टा खुला रहने पम्पले यात्रु र पर्यटकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
