newa srijana

पोखराको क्लब सिक्स्टीनमा आज ‘नेपाली ब्रो’ र ‘द युभ’को रेसलिङ भिडन्त

पोखरा । पोखराको क्लब सिक्स्टीनमा शनिबार साँझ विशेष रेसलिङ प्रतियोगिता ‘द सिक्स्टीन सोडाउन’ हुने भएको छ। कार्यक्रम बेलुकी ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने र प्रवेश निशुल्क हुने आयोजकले जनाएका छन्।

रेसलिङ प्रतिस्पर्धामा दुई चर्चित नेपाली खेलाडीबीच प्रत्यक्ष भिडन्त हुने भएको छ। अमेरिकामा पूर्वसैनिकका रूपमा कार्य गरेका कुमार थापा जसलाई रेसलिङ दुनियाँमा ‘नेपाली ब्रो’ भनेर चिनिन्छ र पोखराका खेलाडी युवराज गिरी जसलाई ‘द युभ’ उपनाम दिइएको छ ।

थापा हाल नेपाल वुमेन रेसलिङ फाउण्डेशन (NWWF) का क्रुजरवेट च्याम्पियन हुन्। उनले भारत, पाकिस्तान, अमेरिका र युरोपका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका छन्। नेपालमा रेसलिङ प्रवर्द्धनलाई आफ्नो मूल ध्येय रहेको बताउँदै उनले यस खेललाई व्यावसायिक बनाउन सुरक्षा र गुणस्तरीय प्रशिक्षण आवश्यक रहेको टिप्पणी गरेका छन्।

Mountain run pokhara click

सिटीजन फनिच्रर

युवराज गिरी भने हाल भारतमा बस्दै आएका छन्। उनले पाकिस्तान, भारत, रुस र चीनमा प्रतियोगिता जितिसकेका छन्। काठमाडौंको लैनचौरमा उनले वुमेन रेसलिङ इन्टरटेन्मेन्ट सञ्चालन गर्दै आएका छन्। गिरीले पोखराको प्रतिस्पर्धा जित्ने आत्मविश्वास व्यक्त गर्दै रेसलिङलाई नेपालको पहिचान बनाउन योगदान गर्ने दाबी गरेका छन्।

प्रतियोगितामा रेसलिङसँगै मुई थाई पनि समावेश गरिएको छ। यस विधामा १६ जना खेलाडी सहभागी हुने र प्रथम हुनेलाई ५० हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रतिस्पर्धा लिग प्रणालीमा हुने र अन्तिम चरणमा उत्कृष्ट दुई खेलाडीबीच फाइनल भिडन्त हुने आयोजकले जनाएका छन्।

कार्यक्रमका संयोजक सुजन रोकाका अनुसार क्लब सिक्स्टीनलाई पोखराको खेलकुद र इभेन्ट हबको रूपमा स्थापित गर्ने योजना रहेको छ। उनका अनुसार आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिँदै जानेछन्।

उनले खेलकुदलाई माध्यम बनाएर नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिने र पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Rabin photo