सुचना१

Gen Z देखि Gen Y सम्म : लुसिफरको प्रकाश र बुद्धको जागरणबीच — नेपाली युवाको चेत र चुनौती

निर्णायक मोडमा नेपाल, जहाँ युवा चेतनाको दिशा र प्रभावमाथि गहिरो प्रश्न उठ्दैछ।

पोखरा । नेपाल अहिले पुनः एउटा निर्णायक युगमा उभिएको छ। पुरानो राजनीतिक ढाँचा, भू–राजनीतिक दबाब र नयाँ पुस्ताको विचारबीच त्रिकोणीय द्वन्द्व चलिरहेको छ। यो संघर्ष अब केवल सत्ता–परिवर्तनको कुरा होइन, चेतनाको पुनर्निर्माणको लडाइँ हो।

Gen Z र Gen Y  दुई पुस्ता जसले नेपालको विगतका आन्दोलन देखेका पनि छन् र विश्वव्यापी डिजिटल युगमा हुर्केका पनि  अहिले राजनीतिक समीकरणका केन्द्रमा छन्। तर यो चेतना के स्वतन्त्र नेपाली जागरण हो, कि “Lucifer को प्रकाश” जस्तै आकर्षक भ्रम जसको अन्त्यमा अदृश्य उपनिवेशवादको अन्धकार लुकेको छ ?

लुसिफर, जसले विद्रोहपछि प्रकाश ल्याउने होइन, अन्धकारको प्रतीक बन्न पुगे। आजको युवा पुस्ता पनि त्यसैगरी परम्परागत सोच र सत्तावादी मूल्यहरूमाथि प्रश्न गर्दैछ। उनीहरू अस्वीकार गर्छन्, विद्रोह गर्छन्, र परिवर्तन खोज्छन्। तर कहिलेकाहीँ यही दिशाहीन अस्वीकारले नयाँ अधीनता जन्माउँछ।

नेपालका युवाहरू अहिले “राजनीतिक वंशवाद” र “सत्ताको स्थायी वलय” विरुद्ध बोलेका छन्। तर यही आवाज कतै विदेशी एजेन्डा र फन्डिङको औजार बन्दै गएको खतरा पनि उस्तै छ। विद्रोह गलत होइन, तर कसको निर्देशनमा भइरहेको छ भन्ने प्रश्न अहिले निर्णायक बनेको छ।

नेपालमा अहिले “Youth Empowerment”, “Good Governance”, “Climate Justice” जस्ता नाममा सयौँ कार्यक्रम चलिरहेका छन्। यी सबै सुनिनमा आकर्षक छन्, तर ती मध्ये धेरै USAID, UNDP, Friedrich Ebert Stiftung, Open Society Foundation जस्ता विदेशी निकायसँग प्रत्यक्ष जोडिएका छन्।

यी संस्थाहरूले युवालाई सीप र अवसरका नाममा प्रेरित गर्छन्, तर साथसाथै आफ्ना राजनीतिक मूल्य र वैचारिक साँचो पनि भित्र्याउँछन्। यसलाई आजका विश्लेषकहरूले “Soft Colonization”  अदृश्य उपनिवेशवाद भन्छन्।

तथ्यहरू बोल्छन्

नेपालमा युवासम्बन्धी कार्यक्रमहरूमा हरेक वर्ष करिब १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी हुन्छ। विश्वविद्यालय र कलेजहरूमा विदेशी सहयोगमा ‘लोकतान्त्रिक नेतृत्व तालिम’ सामान्य भइसकेका छन्। सामाजिक सञ्जालमा देखिने राजनीतिक ह्याशट्याग ट्रेन्डहरू प्रायः बाह्य संस्थाको मनोविज्ञानसँग मेल खान्छन्।

अर्थात्, अब नेपालको युवा चेतना केवल नेपाली मस्तिष्कमा जन्मिएको छैन। यो विश्वव्यापी एल्गोरिद्म र फन्डिङको सन्तुलनमा पनि बाँधिएको छ।

१९६०–७० को दशकको खम्पा बिद्रोह नेपाली इतिहासको एउटा कडा अध्याय हो। विदेशी शक्तिहरूले तिब्बती विद्रोहीहरूलाई नेपालको भूभाग प्रयोग गर्न दिए, र देशभित्रै वैदेशिक रणनीतिक खेल चल्यो। नेपालले त्यसबेला कठोर निर्णय गर्दै राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्‍यो।

तर आज ती “खम्पा अवशेषहरू” हतियारका रूपमा होइन, विचार, धर्म र डिजिटल सञ्जालका रूपमा पुनर्जीवित भइरहेका छन्। सांस्कृतिक अभियान, धार्मिक चन्दा, NGO–INGO का नाममा चल्ने “Free Tibet” र “Human Rights” जस्ता नारा — यी सबै नयाँ रूपका वैचारिक हस्तक्षेप हुन्।

Gen Z र Gen Y को भावनात्मक चेतनालाई लक्ष्य बनाई फेरि नेपाललाई “Strategic Buffer Zone” बनाउने प्रयास बढ्दो छ।

आजको युवा पुस्ता डिजिटल मिडियामा जन्मिएको छ। TikTok, X, YouTube, Instagram नै तिनका राजनीतिक र दार्शनिक विद्यालय हुन्। तर त्यही माध्यम “Lucifer को प्रकाश” जस्तै छ  बाहिरबाट चम्किलो, भित्रबाट निर्देशनयुक्त।

एल्गोरिद्म अब विचार बनाउने औजार बनेका छन्। तपाईं के हेर्नुहुन्छ, कुन आवाजमा विश्वास गर्नुहुन्छ ।यो सबै ‘Artificial Intelligence’ को अदृश्य नियन्त्रणमा पुगेको छ। नेपालजस्तो देश जहाँ भू–राजनीतिक सन्तुलन नै अस्तित्वको आधार हो, त्यहाँ यो डिजिटल प्रभाव अझ खतरनाक हुन सक्छ।

अब तोप होइन, TikTok ट्रेन्ड र ह्याशट्यागको तुफानले शासन गर्ने युग सुरु भएको छ।

नेपालले संसारलाई बुद्ध दिएको देश हो। तर यही देश अहिले अन्धकार र चमकबीचको युद्धमा फँसिरहेको छ। बुद्धले विद्रोह होइन, जागरण सिकाए  अस्वीकार होइन, अन्तर्ज्ञान सिकाए।

यदि आजका युवाहरूले यो बोध गरे कि विकासको मार्ग आत्मनिर्भर चेतनाबाट सुरु हुन्छ, विदेशी फन्डबाट होइन  त्यो क्षण नै नेपालको पुनर्जागरणको सुरुवात हुनेछ।

लुसिफरको विद्रोहले स्वर्ग गुमायो
तर बुद्धको जागरणले संसार उज्यालो बनायो
अब नेपाली युवाको हातमा छ कुन बाटो रोज्ने ?

अहिले नेपालका सहर–सहरमा भइरहेका आन्दोलन, आगजनी र सरकारी कार्यालयमाथिका आक्रमणहरू केवल स्वतःस्फूर्त असन्तोष होइनन्। यी घटनामा संगठन, वित्त र बाह्य प्रभावका संकेत प्रस्ट छन्।

संसद भवन अगाडि चलेको गोलीकाण्ड, महाराजगञ्जमा भएको निर्मम कुटपिट, तिनकुनेमा भएको अभद्र व्यवहार र उपत्यकामा भएका हत्या यी सबै नेपाली समाजको असन्तुलित मनोविज्ञानको प्रतीक हुन्।

यी घटना केवल असन्तोष होइनन्। यी योजनाबद्ध प्रभाव र उद्देश्यपूर्ण उत्तेजनाका उदाहरण हुन्। सामाजिक सञ्जालमा फैलिएका ट्रेन्डिङ ह्याशट्याग, फेक भिडियो र अनामिक स्रोतका “जनमत”हरूले युवाको ऊर्जा विद्रोह होइन, विध्वंसमा प्रयोग गरिरहेका छन्।

राजनीतिक चेत असन्तोषको रूपमा होइन, समाधानको रूपान्तरणमा जानुपर्छ। विद्रोह जायज हुन्छ जब त्यो सुधारका लागि हो। तर जब त्यो सत्ता–परिवर्तन वा अराजकताको लागि प्रयोग हुन्छ, तब त्यो राष्ट्रिय हितविपरीत हुन्छ।

नेपाल अहिले पुनः भू–राजनीतिक जालमा फँस्ने खतरा मण्डराइरहेको छ। विदेशी “Democracy Promotion” कार्यक्रमहरू, दलहरूभित्रको असंवेदनशीलता र सरकार–राजदूतबीचको अस्वाभाविक घनिष्टता — यी सबैले नेपाली जनतामा अविश्वास र विभाजन बढाइरहेका छन्।

बिगतमा मल्लिक आयोग, रायमाजी आयोग कार्यान्वयन हुन नसकेका कारण युवाले न्यायमाथि विश्वास गुमाएका छन्। हालको कार्की आयोग पनि राजनीतिक पूर्वाग्रह र अन्तर्राष्ट्रिय सिफारिसमा चल्ने आशङ्का बलियो छ।

Gen Z र Gen Y बीचको विचार चेत अहिले नेपालको निर्णायक शक्ति हो। तर यदि त्यो चेत विदेशी फाउन्डेशनका मापदण्डमा ढालियो भने  खम्पा बिद्रोहको बन्दुक सायद फर्केर आउँदैन, तर विचारको गोला फेरि चल्नेछ।

विद्रोह आवश्यक छ तर दिशा सही हुनुपर्छ। यदि लुसिफरको चमकलाई बुद्धको उज्यालोमा रूपान्तरण गर्न सक्यौं भने । यो पुस्ता नेपाललाई पुनः जागरणको बाटोमा लैजानेछ नत्र यो केवल अर्को अदृश्य उपनिवेशको सुरु हुनेछ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की