पोखरा । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्र र आसपासका उच्च हिमाली मार्गहरूमा भारी हिमपात भइरहेको छ। यसले पदयात्रा गर्ने पर्यटक र तीर्थयात्रीहरूको यात्रा प्रभावित बनाएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च हिमाली क्षेत्रहरू हुँदै पदयात्रा नगर्न र मौसम पूर्वानुमान हेरेर मात्रै यात्रा गर्न सबैलाई अनुरोध गरेको छ। प्रभावित क्षेत्रहरूमा याकखर्क (५८०० मिटर), थोरङ्लापास (५४०० मिटर), सरिबुङ पास (६००० मिटर) र धौलागिरि पदमार्ग पर्दछन्।
मुस्ताङको मुक्तिनाथ क्षेत्रभन्दा तल्लो भूभागका होटल, धर्मशाला र टेण्टमा तीन–चार इञ्च हिउँ जमिसकेको छ। सडकमा हिउँ जम्दा गाडी र पैदल यातायातमा कठिनाइ भएको छ।
मनाङ, म्याग्दी, गोरखा, बागलुङ, कास्की र लमजुङका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा समेत हिमपात भइरहेको छ। प्रशासनले पर्यटक र तीर्थयात्रीलाई सुरक्षित रहन, जोखिम नलिन र अप्ठ्यारो परे तत्काल सूचना दिन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार, मुस्ताङ–डोल्पा, याकखर्क, मनाङ–मुस्ताङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र धौलागिरि पदमार्गमा भारीदेखि हल्का हिमपात हुने सम्भावना छ। यसले दैनिक जीवन, पर्यटन र पर्वतारोहणमा समस्या उत्पन्न गर्नसक्ने देखिन्छ।
तिहारको अवसरमा हिमाली क्षेत्रतर्फ पदयात्रा गर्नेको संख्या बढेको छ। प्रशासनले मौसम प्रतिकुल रहेका कारण अबका दिनहरूमा पदयात्रा नगर्न सबैलाई अनुरोध गरेको छ।






