पोखरा । नेपालमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला २७०० रुपैयाँले वृद्धि भई २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। अघिल्लो दिन यो मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नासँगै नेपाली बजारमा पनि सो असर परेको हो। पछिल्लो समयमा अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर घटाएपछि विश्व बजारमा सुनको मूल्य उक्लिँदा त्यसको प्रभाव नेपालमा समेत देखिएको महासंघको भनाइ छ।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार दर, अमेरिकी डलरको विनिमय दर र स्थानीय माग–आपूर्तिको आधारमा निर्धारण हुने गर्छ। महासंघले प्रत्येक दिन बिहान ११ बजे सुनचाँदीको अद्यावधिक मूल्य सार्वजनिक गर्छ।


 
			
 
											


