newa srijana

पोखरामा तेस्रो इन्डुरो माउन्टेन बाइक प्रतियोगिता : आठ देशका साठ्ठी भन्दा बढी साइक्लिस्ट

पोखरा । नेपालको साहसिक खेल पर्यटनलाई नयाँ उचाइ दिने उद्देश्यले पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन बाइक प्रतियोगिता आयोजना हुने भएको छ। माउन्टेन बाइक कम्पनी डन टिल डस्कको मुख्य आयोजनामा कात्तिक २७ देखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजयडाँडामा यो तीनदिने प्रतिस्पर्धा चल्नेछ।

प्रतियोगितामा विभिन्न आठ देशका ६० भन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। सुरुमा १५ भन्दा बढी राष्ट्रलाई समावेश गर्ने लक्ष्य राखिएको थियो, तर पछिल्लो समयको जेन्जी आन्दोलनले अन्तर्राष्ट्रिय जगतमा फैलिएको नकारात्मक सन्देशका कारण सहभागी संख्या सीमित हुन पुगेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए।

World link net

समुन्द्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा अवस्थित आर्बा–बिजयडाँडाको पहाडी भू–भागमा हुने यो इन्डुरो दौडले इलिट जुनियर, मास्टर्स ‘क’, मास्टर्स ‘ख’ र ओपन फन गरी कुल छ विधामा प्रतिस्पर्धा गराउनेछ। सन् २०२० देखि नै यो क्षेत्रमा संरचना विकास गर्दै आएको डन टिल डस्कले यसअघि २०८० र २०८१ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरिसकेको छ।

आयोजकहरूका अनुसार यो प्रतियोगिता खेलकुदको विकाससँगै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। विश्वभरि छरिएका माउन्टेन बाइक प्रेमीहरूलाई आकर्षित गर्दै पोखराको प्राकृतिक सौन्दर्य र साहसिक सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ। कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले भने जेन्जी आन्दोलनपछिको विषम परिस्थितिमा उत्पन्न नकारात्मक धारणालाई चिरेर नेपाल सुरक्षित र सम्भावनायुक्त गन्तव्य हो भन्ने सन्देश दिन पनि यो आयोजना विशेष छ।

आगामी वर्षहरूमा प्रतियोगितालाई विश्वस्तरीय स्तरमा पुर्‍याउने निरन्तर प्रयास जारी रहने आयोजकको योजना छ। पोखराको पहाडी ट्र्याकहरूले साहसिक खेलको नयाँ केन्द्रका रूपमा स्थापित हुने विश्वास खेलप्रेमीहरूले व्यक्त गरेका छन्।

सिटीजन फनिच्रर