पोखरा । यहाँको एक मात्र माध्यमिक तहसम्मको शिक्षण संस्था श्री जागेश्वर माध्यमिक विद्यालयले आगामी मङ्सिर २६ गतेदेखि पुष १ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । विसं २०३२ मा स्थापना भएको यो विद्यालयले पाँच दशकदेखि स्थानीयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसि भट्ट र प्रधानाध्यापक यदुनाथ सापकोटाले संयुक्त अपिल जारी गर्दै महोत्सवलाई ऐतिहासिक बनाउन सबैमा हातेमालो गर्न आग्रह गरेका छन्। यो उत्सव विद्यालयको मात्र होइन, सम्पूर्ण गाउँपालिकाको साझा पर्व बन्नेछ उनीहरूले भने।
महोत्सवमा पालिकास्तरीय खेलकुद प्रतियोगिता, विद्यार्थी प्रतिभा प्रदर्शन, स्मारिका विमोचन, सांस्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ। पूर्वप्रशासक, शिक्षक, विद्यार्थी र समुदायका अग्रजहरूलाई विशेष सम्मान गरिने जनाइएको छ।

सन् २०५४ देखि एसईई उत्तीर्ण हजारौँ विद्यार्थीहरू अहिले देश–विदेशमा विभिन्न क्षेत्रमा कार्यरत छन्। भूतपूर्व विद्यार्थी रुपक ढकाल भन्छन् विद्यालयले दिएको आधारले हामीलाई यहाँसम्म पुर्यायो। अब हामीले पनि योगदान दिने बेला आएको छ।
आर्थिक सहयोगका लागि विद्यालयले बैंक खाता र क्यूआर कोडको व्यवस्था गरेको छ। सहयोग रकमअनुसार दोसल्ला, सिल्भर/गोल्डेन फ्रेम, शिलापत्र, ताम्रपत्र र स्मारिकामा नाम प्रकाशन गरिनेछ। एक लाखभन्दा माथि दिनेहरूलाई तीन पुस्ते विवरणसहित विशेष सम्मान गरिने भएको छ।
भूतपूर्व विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत सहयोग सङ्कलनमा जुटेका छन्। विद्यालयको फेसबुक पेजमा सहयोगदाताहरूको नाम, रकम र तस्बिरसहित आभार व्यक्त भइरहेको छ। स्वर्ण महोत्सवले विद्यालयको इतिहास, उपलब्धि र भविष्यको दृष्टिकोणलाई एकैसाथ समेट्ने अपेक्षा गरिएको छ।





