पोखरा। विश्वका पाँचौँ ठूला घडी निर्माता टाइटन कम्पनी लिमिटेडले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। स्टोर चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मलको भुइँतल्लामा रहेको छ र यहाँ एक हजारभन्दा बढी घडी, स्मार्टवाच, परफ्युम र सनग्लास उपलब्ध छन्।
स्टोरको औपचारिक उद्घाटन पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए। उद्घाटनको अवसरमा कार्कीले पोखरालाई केवल पर्यटकीय गन्तव्य नभई व्यापारिक केन्द्रका रूपमा पनि विस्तार भइरहेको उल्लेख गर्दै भने टाइटन जस्ता अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशले स्थानीय बजारमा प्रतिस्पर्धा, रोजगारी र व्यवसायिक गतिविधि बढाउने अपेक्षा गर्न सकिन्छ। यस्ता ब्रान्ड आएपछि पोखराको व्यापारिक विश्वसनीयता र ब्रान्ड भ्यालु दुवैमा वृद्धि हुन्छ।

स्टोरमा टाइटन एजको अल्ट्रा–स्लिम सिरिज, महिलामुखी रागा, युवालाई लक्षित फास्ट्र्याक, स्टेलर कलेक्सन, क्लासिक क्वार्ट्जदेखि अटोमेटिक मोडेलसम्मका घडीहरू उपलब्ध छन्। मूल्य रु. ३ हजार ५ सयदेखि माथि निर्धारण गरिएको छ।
टाइटनसँगको २१ वर्षे साझेदारी स्मरण गर्दै नेपाल ट्रेड नेटवर्कका प्रबन्ध निर्देशक सुनिल कुमार अग्रवालले पोखरामा सुरु भएको एक्सक्लुसिभ स्टोरलाई नेपालको घडी बजारमा ‘प्रीमियम अनुभव’ स्थापना गर्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गरे। उनका अनुसार नयाँ स्टोरमार्फत पोखराकै उपभोक्ताले टाइटनका अत्याधुनिक स्मार्टवाच, लिमिटेड एडिसन मोडेल, प्रिसिजन–इन्जिनियर अटोमेटिक सिरिज र स्टाइल–केन्द्रित क्वार्ट्ज घडीहरू प्रत्यक्ष छान्न–छुन पाउनेछन् र अग्रवालले नेपालमा बढ्दो फ्यासन र लाइफस्टाइल बजारलाई लक्षित गर्दै गुणस्तर, डिजाइन र ग्राहक–सेवामा नयाँ मानक प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।
कम्पनीले स्टोर उद्घाटन अवसरमा मङ्सिर १० गतेसम्म हरेक खरिदमा १० % प्रतिशत छुट र २० एमएलको टाइटन स्किन परफ्युम निःशुल्क दिने अफर घोषणा गरेको छ।

टाइटन कम्पनी लिमिटेड सन् १९८४ मा स्थापना भएको सूचीबद्ध कम्पनी हो। २०२३/२४ मा यसको मूल्यांकन USD ५७० करोड रहेको छ। कम्पनीले प्रत्येक वर्ष १ करोड ५० लाखभन्दा बढी घडी उत्पादन गर्दै २५ देशका ११ हजारभन्दा बढी बिक्री केन्द्रमार्फत करिब २० करोड ग्राहकसम्म सेवा पुर्याइरहेको छ।
टाइटनले विश्वकै सबैभन्दा पातलो घडी Titan Edge डिजाइन गरेको छ, जसका लागि Red Dot Design Award प्राप्त भएको छ। कम्पनीको उत्पादन सुविधा ४५०,००० वर्गफुट क्षेत्रमा फैलिएको छ र यसलाई वैश्विक स्तरमा उत्कृष्ट उत्पादन केन्द्रमध्ये एक मानिन्छ।
नेपालमा सन् २००५ देखि कारोबार गर्दै आएको टाइटनले पोखरामा एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएसँगै पर्यटकीय शहरमा प्रिमियम घडी तथा स्मार्ट एसेसरीजको पहुँच अझ व्यापक हुने अपेक्षा व्यक्त गरेको छ।





