पोखरा । पोखरा उद्योग वाणिज्य संघले ‘लगानीको संवर्द्धन : उद्योग–व्यवसायको प्रवद्र्धन’ नारासहित मंसिर १७ देखि २२ गतेसम्म नेपाल मणिपाल अस्पतालको ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२ आयोजना गर्ने भएको छ।
मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार जेन–जी आन्दोलनपछिका असहज व्यापारिक वातावरण र निजी क्षेत्रमाथि देखिएको दबाबबीच पनि मेला उद्यमशीलता र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य राखेर आयोजना गरिएको हो। निजी क्षेत्र त्रसित भए पनि हतास छैन। कठिन परिस्थितिमा पनि उद्योग–व्यवसायलाई अघि बढाउन मेला प्रभावकारी मंच बन्ने विश्वास हामीलाई छ अध्यक्ष कार्कीले बताए।
मेलाको मुख्य सह–भागीदार यसपटक मणिपाल शिक्षण अस्पताल हुनेछ। संघले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनाउने आफ्नो दीर्घकालीन लक्ष्य मणिपालको लक्ष्यसँग मेल खाएको बताए। स्वास्थ्य पर्यटनमा नयाँ सम्भावना खोलिरहेको र आधुनिक स्वास्थ्य सेवासँगै योग, ध्यान तथा समन्वित उपचार प्रणाली विकास गर्ने अवसर बढेको संघले जनाएको छ।
क्यान नेपाल महासंघ कास्की सह–आयोजकको रूपमा सहभागी हुनेछ। मेलामा सूचना प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन र दैनिक जीवन सहज बनाउने उपकरण तथा सेवाहरू प्रदर्शनीका लागि राखिने छन्। संघका उपाध्यक्ष बलराम आचार्यका अनुसार, मेलामा महानगरले अपसाइक्लिङ तथा रीसाइक्लिङ पूर्वाधार निर्माण गरिरहेको कारण स्टल संख्या यसपटक करिब १२० कायम गरिएको छ।

मेलामा स्वदेशी उत्पादन, कृषि, हस्तकला, उद्योग, अटो, शिक्षा, स्वास्थ्य र प्रविधिसहित स्थानीय उद्यमका सामग्री प्रदर्शनी–बिक्रीका लागि राखिने छन्। मेलाले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्दै बजार पहिचानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। गण्डकी प्रदेशका परम्परागत प्रस्तुति प्राथमिकतामा राख्दै सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछ।
आयोजकले अनुमान गरेका छन् कि मेलाबाट करिब ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुनेछ। खर्च कटाएर करिब पाँच लाख रुपैयाँ बचत हुने र त्यो रकम उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायी क्षमता अभिवृद्धिमा प्रयोग गरिनेछ। जनस्तरमा पहुँच बढाउन मेलामा प्रवेश निःशुल्क राखिएको छ।
पोखरामा शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई केन्द्रित गर्दै स्थानीय उत्पादन, लगानी र आर्थिक गतिविधि सुदृढ बनाउन मंसिर १७ देखि २२ गतेसम्म मेलाले निरन्तरता पाउनेछ।





