पोखरा । मोटरसाइकलको स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषण र सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पोखराबाट चार युवकलाई पक्राउ गरेको छ। चेकजाँचको क्रममा प्रहरीसँग झगडा गर्ने उनीहरूलाई “Operation 365” अभियान अन्तर्गत नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ का २० वर्षीय मनिष केसी, वडा नं. ८ का २२ वर्षीय कृष्ण मल्ल, वडा नं. २४ का २४ वर्षीय मनोज नेपाली र वडा नं. १७ का २७ वर्षीय विशेष पुर्जा रहेका छन्। प्रहरीले उनीहरूका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक गणेश पाण्डाका अनुसार केसीको ग २१ प ६१७१, मल्लको लु ३० प ५५६१, नेपालीको ग २० प २९२२ र पुर्जाको ग १५ प २०४७ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
उनीहरूले स्थानीय शान्ति सुव्यवस्थामा बाधा पुर्याउने र समाजमा आतंक सिर्जना गर्ने गतिविधि गरेको प्रहरीले जनाएको छ। अभियान सुरु भएयता हालसम्म १८९ वटा मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले शहरी वा ग्रामीण क्षेत्रमा ध्वनी बढाउने हो-हल्ला गर्ने वा साइलेंसर पाइपबाट आगो झिल्का निकाल्ने मोटरसाइकल देखिएमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने व्यवस्था छ।





