पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले आगामी पौष ४ गतेदेखि ७ गतेसम्म १८औं संस्करणको स्पोर्ट्स मिट आयोजना गर्ने भएको छ। पोखरा रङ्गशाला र पुन समाजमा सञ्चालन हुने यस खेलकुद प्रतियोगितामा करिब चार हजार विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा कक्षा ११ र १२ का विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाउने बताए। खेलकुद प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमिन्टन र टेबल टेनिस लगायतका विधामा प्रतिस्पर्धा हुनेछ।
आयोजकका अनुसार छात्र भलिबलमा ३८ टोली, छात्रा भलिबलमा २४ टोली, छात्र बास्केटबलमा ४६ टोली र छात्रा बास्केटबलमा २० टोली प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, टेबल टेनिस सिंगल र डबलमा २५० जना र ब्याडमिन्टन सिंगल तथा डबलमा २५८ जना खेलाडीले भाग लिनेछन्।

कास्की जिल्लाको प्रमुख शैक्षिक संस्था हिसानसँग माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालय गरी ८० शिक्षालयको सम्बद्धता रहेको छ। यसअन्तर्गत ६८ विद्यालय र १२ कलेजमा ४० हजारभन्दा बढी विद्यार्थी र पाँच हजारभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्।
स्पोर्ट्स मिटमार्फत विद्यार्थीहरूमा शारीरिक स्वास्थ्य, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने उद्देश्य रहेको हिसान कास्कीका महासचिव किरण सापकोटाले बताएका छन्। उनले खेलकुदलाई शैक्षिक गतिविधिको महत्त्वपूर्ण अंगका रूपमा लिइएको जानकारी दिए।
यसपटकको प्रतियोगितामा ४० हजारभन्दा बढी दर्शक तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ। खेलकुदसँगै खेल क्षेत्रमा विशेष योगदान पुर्याउने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ। यसपालि भारोत्तोलनतर्फ अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी खेलाडी शर्मिला शाहलाई सम्मान गरिने आयोजकले जनाएको छ।
हिसान कास्कीले १७ संस्करणसम्म नियमित रूपमा स्पोर्ट्स मिट आयोजना गर्दै आएको छ। संस्थाले गुणस्तरीय शिक्षासँगै सांस्कृतिक संरक्षण र खेलकुदको विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।





