पोखरा । लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्।
महोत्सव सञ्चालनको नवौं दिनसम्म आईपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरुले अवलोकन गरिसकेका छन भने सोही अनुरुप र कारोबारमा वृद्घि हँुदा आयोजकहरुमा उत्साह थपिएको छ । विदाका दिनमा मात्र करीब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार पुगेको छ।
आर्थिक कारोबारतर्फ दैनिक एक करोड रुपैयाँ हाराहारीमा कारोबार भइरहेको आयोजकले जनाएको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँ बराबरको आर्थिक गतिविधि भएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा राम्रो कारोबार भएको छ। विशेषगरी बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका लागि आकर्षण बनेका छन् ।

यस वर्ष महोत्सवलाई परिष्कृत स्वरूप दिँदै कृषि बहस र उद्योग बहस कार्यक्रम पनि आयोजना गरिएको छ। कृषि बहसमा माछापालन, अलैंची खेती र पोल्ट्री व्यवसायका कृषकहरूले अनुभव र चुनौती साझा गरेका थिए भने उद्योग बहसमा विभिन्न उद्योगीहरूले व्यवसायिक संघर्ष र सफलताका कथा प्रस्तुत गरेका छन्। नीति निर्माता र सरोकारवालाबीच प्रत्यक्ष संवादले महोत्सवलाई केवल मनोरञ्जनात्मक मात्र नभई ज्ञान र बहसको मञ्चका रूपमा स्थापित गरेको छ ।
सांस्कृतिक, साहित्यिक र शैक्षिक कार्यक्रमहरू पनि महोत्सवका थप आकर्षण बनेका छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन कार्यक्रम रहेको छ । विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम संगीत र लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
२०६१ सालमा ‘सुन्तला महोत्सव’का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यको साझा मञ्चका रूपमा स्थापित भएको छ। स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवद्र्धन र सांस्कृतिक पहिचान जोगाउन लेखनाथ महोत्सव प्रभावकारी माध्यम बन्दै गएको सरोकारवालाहरूको भनाइ छ ।
महोत्सव अझै ३ दिन सञ्चालन हुने भएकाले दर्शक संख्या र आर्थिक कारोबार थप बढ्ने अपेक्षा गरिएको छ ।





