सुचना१
newa srijana

स्याङ्जाको अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै

पोखरा । गाउँ भित्र्ने पर्यटकबाट हुने फाइदा सबै गाउँलेले समान रूपमा पाउने उद्देश्यसहित सञ्चालन गरिएको अयरपानी सामुदायिक होमस्टे आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखामा संचालित होमस्टेमा पछिल्लो समय दैनिकजसो सयौंको संखयामा पर्यटकको चहलपहल बढ्दै गएको छ ।

स्थानीय मौलिक परिवेश, गुरुङ् समुदायको कलसंस्कृति र गाउँमै उत्पादन भएका वस्तुबाट बनेका परिकार अयरपानी होमस्टेको मुख्य आकर्षण बनेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको होमस्टेमा पुग्ने पर्यटकले अर्गानिक खानासँगै उत्तरतर्फ नजिकै देखिने माछापुच्छ«े, धौलागिरीसहित दर्जनौँ हिमश्रंखला अवलोकन गर्न पाउने भएपछि बसाइँलाई अझै यादगार बनाउने गरेका छन् ।

गुरुङ् समुदायको बाहुल्य रहेको अयरपानी बस्तीमा हालसम्म मौलिक संस्कार, संस्कृति परम्परागतमै जोगाएर राखिएको छ । परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धनमा होमस्टेले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको अयरपानी होमस्टे पुगेका आन्तरिक पर्यटक बताउँछन् । कलासंस्कृतिसँगै स्थानीय परिकारले होमस्टेलाई आकर्षक बनाएको अयरपानी पुग्ने पर्यटकले अन्यत्रको होमस्टे भन्दा फरक अनुभूति पाउने गरेका छन् ।

सडक महोत्सव

सामूहिक भावनाबाट व्यवसाय प्रवद्र्धन गर्न होमस्टे सुरु गरिएको सञ्चालक सपना गुरुङ्ले बताईन् । गाउँमा आउने पाहुनाबाट हुने आम्दानी अयरपानीका सबै घरधुरीले समान रूपमा पाउन भनेर होमस्टे व्यवसाय गरिएको उनको भनाई छ । पाहुनाले स्थानीय कलासंस्कृति, खाना र आत्मियतालाई मन पराउने गरेको बताउँदै उनले भनिन्, ‘एक पटक अयरपानी आउने पर्यटकले अन्य पर्यटकलाई समेत आकर्षित गरेकाले दिनानुदिन पर्यटकको चहलपहल बढिरहेको छ ।’

सिद्धार्थ राजमार्गको कुभिन्डेबाट करिब सात किलोमिटरको दूरी र पोखराको छोरेपाटनबाट अयरपानी होमस्टेमा पुग्न सहजै सकिन्छ । जाडोमा बिहानै घाम लाग्ने र गर्मिमा चिसो हावा चल्ने उच्चभाग (डाँडामा) अवस्थित अयरपानी होमस्टेको प्रचारप्रसारमा खासै रकम खर्च नगरेको स्थानीय बताउँछन् । पर्यटककै रोजाईले होमस्टे दिनप्रतिदिन फस्टाउँदै गएको उनीहरुको बुझाई छ ।

स्थानीयको पहलमा सञ्चालित होमस्टेको थप प्रवद्र्धनका लागि सरकारी तथा गैरसरकारी निकायबाट अपेक्षाकृत सहयोग नपाएको उनीहरु बताउँछन् । देशकै नमुना सामुदायिक होमस्टे बन्ने विश्वास गरेका स्थानीयले व्यवसायसँगै पर्यटन प्रवद्र्धनको काम गर्दै आएका छन् ।

पछिल्लो समय नेपालकै पहिलो ग्रामिण सिरुबारी होमस्टे, हुनिकोट, सुन्तलाबारी, रामकोट होमस्टेमा आन्तरिक र बाह्यि पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । बजार क्षेत्रको तुलनामा शान्त र स्थानीय परिकार खान पाईने भएपछि होमस्टेहरु पर्यटकको रोजाईमा पर्ने गरेको छ । पर्यटकको संख्यामा वृद्धि भएसँगै स्थानीयको रोजगारीसँगै आम्दानीमा समेत सकारात्मक प्रभाव परेको होमस्टे संचालकको अनुभव छ ।

पुल सेन्टर
वडा नं २६