पोखरा । पोखरा ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई समृद्ध बनाउने बताउँदै, नैतिक ज्ञानका लागि धार्मिक चेतना आवश्यक रहेको बताए ।
समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको धार्मिक धरोहरका रुपमा रहेको पशुपतिनाथ मन्दिरलाई विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले धर्म बाँचे मात्र संस्कार बच्ने र समाज असल हुने स्पष्ट पारे ।

कार्यक्रममा वडा सदस्य गोविन्द बराल,संस्थापक अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार समाजसेवी परशुराम बराल,श्रीराम टोल विकास समितिका अध्यक्ष त्रृmषिराम पौडेल, नेपाल सरकारका पुर्व सहसचिव प्रेमराज गिरीलगायतले समितिले गरेका कार्यको प्रशंसा गरेका थिए ।
सभाले सचिव कृष्णहरि सिग्देल र कोषाध्यक्ष बालकृष्ण बरालले पेश गरेको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष दामोदर सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव देवका पौडेल र संचालन सचिव कृष्णहरि सिग्देलले गरेका थिए ।
सो अवसरमा सहयोगदातालाई प्रशंसापत्र प्रदान समेत गरिएको छ ।समितिमा ४ सय ५ जना आजिवन र ९३ जना साधारण सदस्य आवद्ध छन् ।





