सुचना१
newa srijana

स्याङ्जामा २३ हजार मेट्रिक टन सुन्तला उत्पादन, एक अर्ब ३० करोड मूल्य

पोखरा । स्याङ्जामा एक अर्ब ३० करोड मूल्यको सुन्तला उत्पादन भएको छ । दुई हजार चार सय हेक्टर क्षेत्रफलमा एक अर्ब ३० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । प्रतिकिलो ५७ रुपैयाँका दरमा सुन्तला बिक्री गर्दा कृषकले उक्त मूल्य पाउने भएका छन् ।

जिल्लामा अघिल्लो वर्र्ष एक अर्ब १२ करोडको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा चालु वर्षमा १८ करोड बढि मूल्यको सुन्तला उत्पादन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा २० हजार ८४ मेट्रिक टन उत्पादन भएको सुन्तला चालु वर्ष २३ हजार २३८ मेट्रिक टन उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाले जनाएको छ ।

गत वर्षको तुलनामा जिल्लामा सुन्तला लगाएको भूभाग, उत्पादन र उपादकत्वमा वृद्धि हुँदै गएको छ । दुई हजार २५० हेक्टरमा उत्पादन हुँदै आएको सुन्तला पछिल्लो वर्ष दुई हजार चार सय हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । प्रतिहेक्टर १४ दशमलब ६६ मेट्रिक टन उत्पादकत्व रहेको सुन्तला यस वर्ष बढेर प्रतिहेक्टर १६ दशमलब ३७ मेट्रिक टन पुगेको परियोजनाले जनाएको छ ।

सुन्तलाका लागि अनूकुल वातावरण, लगाएको भूभाग, कृषक र उत्पादन दिने बिरुवाको संख्यामा वृद्धि भएसँगै स्याङ्जामा सुन्तला उत्पादन बढेको परियोजना प्रमुख अजय अधिकारीले बताए । सुन्तला फूल्ने र फल्ने मौसममा असिना पानी नपरेको र रोग किराको संक्रमण नहुँदा उत्पादकत्वमा वृद्धि भएको अधिकारीले जनाए । उत्पादनमा वृद्धि भएसँगै जिल्लाका सुन्तला उत्पादक कृषकहरु उत्साहित भएका छन् ।

सडक महोत्सव

उत्पादित सुन्तलाको झण्डै १० प्रतिशत अर्थात दुई हजार ३५६ मेट्रिक टन आन्तरिक रुपमा खपत हुन्छ भने बाँकी रहेको २० हजार ८८२ मेट्रिक टन देशभित्रै निर्यात हुने परियोजनाले जनाएको छ । स्याङ्जामा उत्पादित सुन्तला छिमेकी जिल्ला तथा पोखरा, काठमाडौं, चितवन र बुटवल निर्यात हुँदै आएको छ । पछिल्लो सयम राम्रो र स्वादिला सुन्तला उत्पादन हुन थालेपछि ठूला सहरका होलसेल पसलमार्फत बिक्री हुँदै आएको छ ।

आउँदा वर्षहरुमा मौसमले साथ दिएमा स्याङ्जामा सुन्तला उत्पादन बढ्दै जाने परियोजनाका सूचना अधिकारी तथा कृषि अधिकृत प्रतिभा बुढाथोकीले बताइन् । जिल्लामा थप ९८० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको छ । आउने वर्षहरुमा उत्पादन दिने बिरुवा थपिने छन् भने प्रत्येक वर्ष सुन्तला खेती विस्तार र उत्पादनमा वृद्धिहुँदै जाने अधिकृत बुढाथोकीले जनाइन् ।

जिल्लामा व्यावसायिक रुपमा सुन्तला खेती गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । बजारमा राम्रो मूल्य पाइने र अन्य खेतीको तुलनामा धेरै मेहनत गर्न नपर्ने भएपछि कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएको परियोजनाले जनाएको छ । स्थानीय तहसँगै प्रदेश र संघ सरकारले सुन्तला कृषकलाई प्राथमिकतामा राखेर अनुदानका कार्यक्रम संचालन र सहयोग गरेपछि सुन्तला खेती गर्नेको संख्या बढ्दै गएको हो । पछिल्लो समय सुन्तला व्यवसायलाई मुख्य आम्दानीको श्रोत बनाउने कृषकको संख्या थपिदै गएको छ ।

स्याङ्जाका ११ वटै पालिकाका प्रायः सबै क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेती गरिदै आएको छ । जिल्लाका ९७ वडामध्ये झण्डै ९० वडामा सुन्तला उत्पादन हुने गरेको परियोजनाले जनाएको छ । पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकालाई पकेट क्षेत्र कायम गरिएको छ भने फेदखिोला, आँधीखोला र बिरुवा गाउँपालिकालाई नयाँ पकेट क्षेत्र बनाएर सुन्तला खेती विस्तार गरिएको रहेको सुन्तला सुपरजोन कार्यान्वयन समितिका अध्यक्ष बोधराज अर्यालले बताए ।

सुन्तला खेतीबाट प्रतिपरिवार वर्षेनी एकदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । जिल्लामा सहकारी, समूह र व्यक्तिगत रुपमा सुन्तला खेती गरिन्छ । बिरुवा रोपेको पाँच वर्षभित्रमा सुन्तलाले फल दिने गर्छ । कलमी गरेर तयार गरिएको बिरुवाले रोपेको तीन वर्षमै फल दिने गरेको स्थानीय कृषकले बताए । वर्षेनी ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्नसक्ने सुन्तला उत्पादक सयौं कृषक रहेका छन् ।

पुल सेन्टर
वडा नं २६