सुचना१
newa srijana

६ वर्षदेखि बेकार बस्दै राङ्खोलाको सुन्तला संकलन केन्द्र

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङ्खोलामा निर्माण गरिएको सुन्तला संकलन केन्द्र प्रयोग विहीन भएको छ । झण्डै ५५ लाखको लागतमा निर्माण भएको संकलन केन्द्र स्थापनासँगै प्रयोग विहीन भएको हो । १० वर्षलाई जग्गा भाडामा लिएर बनाएको केन्द्र ६ वर्षसम्म प्रयोगमा आउन सकेको छैन् ।

करिब ६ रोपनी क्षेत्रफलमा बनेको संकलन केन्द्र हालसम्म प्रयोगमा आउन सकेको छैन् । स्थानीय सुन्तला उत्पादक कृषकहरुको मागका आधारमा केन्द्र निर्माण गरिएको थियो । त्यस क्षेत्रमा उत्पादित सुन्तला संकलन गरेर ग्रेडिङ्ग (वर्गिकरण) गर्न सहज होस भन्ने उद्देश्यले संकलन केन्द्र बनाएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷०७४ मा विनियोजित ३० लाखको लागतबाट निर्माण शुरु भएको संकलन केन्द्र कृषकको १५ प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७५÷०७६ मा झण्डै ५५ लाखमा निर्माण भएको भएको हो । स्थापना भएको ६ वर्षदेखि प्रयोग विहीन भएको केन्द्रको वार्षिक ६० हजार रुपैयाँ भाडा भने कार्यक्रमले तिर्दै आएको छ । ११ समूहमा आवद्ध झण्डै २७५ कृषकलाई लक्षित गरेर सुन्तला संकलन गर्न सहज होस भनेर केन्द्र निर्माण गरिएको कार्यक्रमले जनाएको छ ।

Pokhara महोत्सव

जिल्लामा उत्पादन हुने कुल सुन्तलामध्ये त्यस क्षेत्रमा झण्डै २० प्रतिशत सुन्तला उत्पादन हुने गरेको कार्यक्रम प्रमुख अजय अधिकारीले बताए । ‘उत्पादित सुन्तला संकलन गरेर वर्गिकरण गरेपछि खरिद बिक्री गर्न सहज बनाउन केन्द्र बनाएका थियौं ।’ अधिकारीले भने, ‘सुन्तला पकेट क्षेत्रका स्थानीय कृषकले केन्द्र सदुपयोग नगर्दा संकलन केन्द्र लामो सयमदेखि प्रयोग विहीन भएको छ ।’

राङ्खोला, बरजा, कान्छीबजार, हलहले, धोबादी, सुम्रेखोला र जैसीडाँडाका सुन्तला उत्पादक कृषकले प्रयोग गर्नुपर्ने केन्द्र वेबारिसे अवस्थामा पुगेको छ । सुन्तला उत्पादक कृषक आफैले सुन्तला खरिद बिक्री गर्नुपर्ने भए केन्द्र प्रयोगमा आउने थियो । सुन्तला ठेकेदारले बगैंचाबाटै सुन्तला खरिद गर्दै उठाएर लैजाने भएपछि केन्द्र प्रयोग विहिन बन्दै गएको हो ।

कृषकले माग गरेकै आधारमा संकलन केन्द्र बनाएको कार्यक्रमका प्राबिधिक सहायक ईन्द्र सुबेदीले जनाए । कृषकले निवेदन दिएर लागत साझेदारी गछौं भनेपछि केन्द्र निर्माण कार्यालयले प्रक्रिया थालेको सुबेदीले बताए । उद्देश्य अनुरुप निर्माण भएको केन्द्र प्रयोगमा आएको भए करिब ५५ लाखको आधुनिक ग्रेडिङ्ग मेशिन जडान गर्ने तयारीमा थियौं । उनका अनुसार भवन प्रयोग विहीन बन्दै गएपछि थप लगानी गर्न रोकिएको हो ।

सुन्तला गे्रडिङ्ग गर्न बनाएको संकलन केन्द्र समूहको बैंठक, भोजभतेर, पिकनिक र ब्याटमिन्टन खेल्ने थलोमा परिणत भएको छ । राज्यले लाखौं रुपैयाँ खर्चेर बनाएको वार्षिक भाडा तिर्दै आएको भवन प्रयोग विहीन हुँदै गएको स्थानीय कृषक मुक्ति अधिकारीले बताए । कार्यक्रमले भवन बनाएपनि औजार जडान नगर्दा भवन प्रयोगमा आउन नसकेको उनले बताए । औजार थपेर सुन्तला खरिद बिक्री गर्ने प्रक्रियामा सुधार नल्याएसम्म भवन प्रयोगमा आउन नसक्ने अधिकारीले जनाए ।

पुल सेन्टर
वडा नं २६