पोखरा । स्याङ्जाको वालिङ नगरपालिकाका सुन्तला उत्पादक महलिा कृषकले तौलको (जोखेर) आधारमा सुन्तला बिक्री गर्न थालेका छन् । ठेकेदारले बगैंचामै पुगेर एकमुष्ठ किन्ने र कृषकले ठेक्कामै दिने प्रचलनलाई त्याग्दै पछिल्लो सयम कृषकले तौलेर सुन्तला बिक्री गर्न थालेका हुन् । तौलका आधारमा सुन्तला बिक्री गर्दा फाईदा पुगेको वालिङ नगरपालिका–२ की कृषक डाँसीमाया पौडेलले बताइन् ।
‘सुन्तला फलेको बगैचा नै ठेक्का दिने प्रचलन थियो, विगतको वर्षबाट तौलका आधारमा बिक्री गर्न थालेपछि कृषकलाई प्रत्यक्ष फाईदा पुगेको छ ।’ पौडेलले भनिन्, ‘यस वर्ष झण्डै १६ हजार किलो सुन्तला बिक्री गर्दा ९ लाख रुपैयाँ भन्दा बढी आम्दानी भएको छ ।’ सुन्तला बगैंचा एकमुष्ठ ठेक्काकै आधारमा दिएको भए ६÷७ लाख भन्दा बढी नपर्ने दाबी गरेकी पोडेलले आफ्नो बगैंचाको चार सय बोटमा फलेका सुन्तलाले राम्रो उत्पादन र आम्दानी दिएको सुनाइन् ।
यस वर्षको सुन्तला कारोबारबाट सन्तुष्ट देखिएकी स्थानीय विष्णु घर्ती उचित मुल्य पाएको भन्दै हर्षित छिन् । गएको वर्षबाट तौलसँगै ठेकेदारसँग लिखित सम्झौता गरेर सुन्तला बेच्दै आएको घर्तीले बताइन् । ४४ वर्षिया घर्तीले चालु सिजनमा झण्डै ५ हजार किलोग्राम सुन्तला बिक्री गर्दा तीन लाख भन्दा बढी आम्दानी लिन सफल भएको बताइन् ।
वालिङ नगरपालिका–२ सियाले गाउँका महिलाको सक्रियतामा गठन गरिएको चक्रदेवी स्वावलम्बी सुन्तला उत्पादक महिला समूहले गत वर्षबाट सामुहिक रुपमा सुन्तलाको बजारीकरण गर्दै आएका छन् । ३२ जना महिला आवद्ध समूहका सदस्य सबैले सुन्तला तौलका आधारमा बिक्री गरेको समूहकी अध्यक्ष शोभा पौडेलले बताइन् । ‘सुन्तालाको गोलमेड, स्याहारसम्भार सामुहिक रुपमा ग¥र्यौं र उत्पादनका आधारमा मुल्य पनि लियौंैं ।’ उनले भनिन्, ‘सुन्तलाको साना र ठूला गरी दानाको आधारमा ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म प्रतिकिलो बिक्री गरियो ।’

सामुहिक रुपमा सुन्तला खेती र बिक्री गर्दा सबैलाई राम्रो फाईदा भएको वडा नं.–२ की वडा सदस्य तथा समूहकी सदस्य हिरादेवी ढुङ्गानाले बताइन् । गएको वर्षबाट आफूहरुले सामुहिक रुपमा तौलका आधारमा सुन्तला बेच्दै आएको ढुङ्गानाले जनाइन् । उनी आफ्नै बगौंचाको एक हजार ५ सय बोट सुन्तलाबाट नगद १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएकी छन् । सुन्तला एकमुष्ठ दिनुको सट्टा तौलेमा बिक्री गर्दा समूहले राम्रो आम्दानी लिन सकेको ढुंगानाको बुझाई छ ।
उत्पादित सुन्तलाले उचित मूल्य नपाएको गुनासोबीच महिला समूहमार्फत गरिएको बजारीकरणले उचित मूल्य दिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । व्यापारीले मनलाग्दी मूल्यमा होलसेलका आधारमा ठेक्का लिने प्रबृत्तिको अन्त्यका लागि महिलाहरुको सामुहिक प्रयास र सक्रियता आम्दानीसँगै उदाहरणीय बनेको सुबेदीले जनाए ।
वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिरहेको ‘वालिङ कृषि विकास परियोजना’ मार्फत नगरक्षेत्रमा उत्पादित सुन्तला बजारीकरणका लागि सहजीकरण गरिरहेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । उत्पादित सुन्तला बिक्रीका लागि तौललाई आधार बनाएर बिक्री गर्दा उत्पादक कृषकलाई लागत अनुसार राम्रो फाईदा पुगेको खाँणले बताए । परियोजनाले उत्पादनसँगै सुन्तलाको उत्पादकत्व वृद्धिमा समेत काम गरेको जनाएको छ ।
सुन्तला उत्पादन हुने वालिङ नगरपालिकाका वडा नं.–१, २, ५, ११ र १४ मा गठन भएका महिला स्वावलम्बी समूहका सदस्यले यस वर्षको सिजनमा हालसम्म एक लाख ७९ हजार ६१० किलो सुन्तला बिक्री गरेर एक करोड ५ लाख रुपैयाँ आम्दानी गरेको परियोजनाले जनाएको छ । परियोजनाको सहकार्यमा समूहले गरेको बजारीकरणका माध्यमबाट खासगरी महिला कृषकले राम्रो आम्दानी लिन सफल भएको नगरपालिकाको बुझाई छ ।





